धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगर प्रमुख अशोक व्यञ्जुले नगरभित्र रहेका अपांगता भएको व्यक्तिहरुलाई स्वास्थ्य बिमा, सम्पत्ति कर र उच्च शिक्षा निशुल्क गर्ने घोषणा गरेका छन् । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ धुलिखेल नगरपालिकामा भएको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख ब्यञ्जुले उक्त घोषणा गरेका हुन् ।
‘धुलिखेल नगरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको स्वास्थ बिमामा नेपाल सरकारले ५ सय ५ रुपैयाँ तिर्ने गरेको र व्यक्तिहरुले तिर्नुपर्ने रकम नगरले ५ सय ५ रुपैयाँ तिर्ने छ ।’ व्यञ्जुले भने, ‘अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर पनि लिनेछैन । साथै अपांगता भएको व्यक्तिले नगरपालिकामा रहेको कलेजहरुमा उच्च शिक्षा हासिल गर्न निःशुल्क ब्यबस्था गर्नेछौं ।’
कार्यक्रममा धुलिखेल नगर पालिका, नेपाली सेना र आईडीआई (अमेरिका) मिलेर धुलिखेल नगरपालिकामा ३.५ किलोमीटर अपांगता भएका व्यक्ति हिड्ने अपांगमैत्री पर्यटकियपथ मार्ग निर्माण गर्ने घोषणा गर्दै ब्यञ्जुल धुलिखेल नगरपालिकालाई निकट भबिष्यमा अपांगमैत्री शहर बनाउने बताए ।
यस अघि नगरले अपांगता भएको व्यक्तिहरुलाई ह्विल चियर, छडी, कान सुन्ने मेसिन बितरण तथा सीप मुलक र आय आर्जन सम्बन्धिब प्रशिक्षण गरेको थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।