दोलखा । जिल्लको भीमेश्वर नगरपालिकामा जेसिवी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलमा नम्बर प्लेट नटाँसेको जेसिवी दुर्घटना हुँदा विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुका २२ वर्षिय राजु थामीको मृत्यु भएको हो । दुर्घटनामा परी विगु गाउँपालिका वडा नम्बर ७ अम्बा टोलका २७ वर्षिय विजय श्रेष्ठ, भिमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय सुमन थामी र जेसिवी चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ चिउरी खर्कका २२ वर्षिय राजकुमार थामी गम्भिर घाईते भएका छन् ।
गम्भिर घाईते तीनै जनालाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको दोलखाका प्रहरी नायव निरिक्षक सई यज्ञ शाहले जानकारी दिएका छन् । दुर्घटनामा परी मृत्यु भएका थामीको शव प्राथमिक स्वास्थ्य केन्द्य्र चरिकोटमा राखिएको छ । दुर्घटनामा परेका चारै जना साथीसाथी हुन् ।
गएराति करिव साँढे ९ बजे सदरमुकाम चरिकोटस्थित गौतमटोलबाट दोलखा बजारतर्फ जाँदै गरेको जेसिवी तिव्र गतिमा चलाएकाले अनियन्त्रित भएर सडकबाट करिव सय मिटर तल खसेको छ । जेसिवी नयाँ भएकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जेसिवी अहिले घटनास्थलमै रहेको छ ।

Comments

comments