काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कुनै पनि कमिटीमा सदस्य बन्न पार्टी स्कूल पास गरेको प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।
नेकपा स्कूल विभागले केन्द्रीय सचिवालयमा पेश गरेको कार्ययोजनामा तल्लो तहसम्म स्कूल सञ्चालन गर्ने र त्यहाँ उतीर्ण हुनेलाई प्रमाणपत्र दिने सहितका व्यवस्था गरिएको छ ।
ईश्वर पोखरेल प्रमुख र देवेन्द्र पौडेल तथा बेदुराम भुसाल उपप्रमुख रहेको बिभागको हालैको बैठकले कार्ययोजना बनाएर सचिवालयमा पेश गरेको हो । सचिवालयबाट कार्ययोजना र विभागलाई पूर्णता दिने म्याण्डेट प्राप्त भएपछि देशब्यापी रुपमा नेकपाले स्कूल सञ्चालन गर्नेछ । यस्तो स्कूल स्थानीय तहसम्म सञ्चालन गरिने भुसालले बताए ।
यसअघि तत्कालिन एमालेको विधानमा पार्टी स्कूल बिभागमा सामेल भएर उतीर्ण भएको व्यक्तिमात्र कुनै पनि कमिटीमा उम्मेदवार बन्न पाउने व्यवस्था थियो । सो व्यवस्था पूर्ण रुपमा कार्यान्वयन नआए पनि अब नेकपाको महाधिवेशनसम्म जाँदा यो व्यवस्था लागु गर्नुपर्ने स्कूल विभाग उपप्रमुख भुसालले बताए ।
नेकपा स्कूल विभागले पहिलो चरणमा पाठ्यक्रम बनाउने भएको छ । पाठ्यक्रममा पार्टीको मार्गदर्शक सिद्धान्त, माक्र्संवाद, लेनिनवाद, पार्टीको तत्कालिन कार्यक्रम जनताको जनवाद, पार्टीले लिएको वैज्ञानिक समाजवाद र नेकपा सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको विषय समेटिने उपप्रमुख भुसालले बताए ।
यीबाहेक नेपाली समाजको चरित्र, सामाजिक सांस्कृतिक मूल्य मान्यता, सामाजिक सञ्जालको प्रयोग, जलवायु परिवर्तन जस्ता विषयहरु पनि नेकपाको स्कूलमा पढाइने भएको छ । यी सबै पाठ्यक्रम विषयविज्ञबाट बनाउन लगाइने र स्कूलमा पनि उनीहरुले नै पढाउने नेकपाले जनाएको छ ।
पार्टीको सचिवालयले कार्ययोजना स्वीकृत गरेलगत्तै पहिलो चरणमा केन्द्रीय स्कूलबाट प्रशिक्षक प्रशिक्षण चलाइने भुसालले बताए । केन्द्रपछि सातै प्रदेशमा प्रशिक्षकहरुलाई प्रशिक्षण गरिनेछ । उनीहरुको पढाइ अवधि सकिएपछि प्रयोगात्मक र लिखित दुवै परीक्षा लिई प्रमाणपत्र दिइनेछ । स्कूलबाट दीक्षित प्रशिक्षकहरुले स्थानीय तह र कतिपय वडासम्म पुगेर पढाउनेछन् ।
पार्टी सदस्यहरुमा अध्ययन गर्ने प्रचलन समाप्त भएको र कमिटीमा बस्ने बिभिन्न तहका नेता कार्यकर्तामा समेत पार्टीको नीति सिद्धान्त र कार्यक्रमका बारेमा जानकारी नहुने अवस्था रहेकाले माथिदेखि तलसम्म स्कूल चलाउने कार्ययोजना बनाइएको विभाग प्रमुख पोखरेलले बताए । पार्टीको नीति, कार्यक्रम, सिद्धान्त र नेपाली समाजको चरित्र बुझ्न नसक्नेहरु कम्युनिस्ट सदस्य हुन नसक्ने उनको भनाइ छ ।
स्कूल विभागले चलाउने तल्लो तहसम्मका कक्षाहरुमा विषय विज्ञले नै प्रशिक्षण दिनेछन् । अब नेकपाको स्कूल म्यानुअल होइन डिजिटल प्रणालीबाट सञ्चालन हुनेछ । यसका लागि दक्ष व्यक्तिहरु विभागमा राखिने भुसालले बताए । स्कूलमा भिडियो कक्षा पनि सञ्चालन गरिनेछन ।
स्कूल विभागमा सदस्यहरु राख्दा पनि सम्बन्धित विषयका विज्ञहरुलाई प्राथमिकता दिइने भएको छ । कुनै न कुनै विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई मात्र विभागमा सदस्य बनाइने भएको छ । कतिपयलाई पहिले स्कूल लिन लगाएर परीक्षणपछि मात्र विभागमा राख्ने गरी अहिले नै विभागलाई पूर्णता नदिने नीति बनाइएको स्रोतले जनाएको छ । अनलाईनखबरबाट

Comments

comments