करोडपति सुब्बाः इमानको कमाइ होइन, घुसको भारीले लच्किँदै अदालतको कठघरामा
सरकारले यसै वर्ष बढाएको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार दुई सय छ । अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर थोरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्रै हुन सक्छ । तर, हजारमा तलब बुझ्ने केही सुब्बा करोडौँका मालिक भएका छन् । काठमाडौंलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौँ लगानी, बैंकमा अथाह बचत उनीहरूको आर्थिक धरातल हो । भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरू अख्तियारको चल्तीको भाषामा ‘सानो माछा’ हुन् ।
३० वर्ष लामो जागिरे करिअरमा मदनकुमार गुप्तालाई मालपोत कार्यालयबाट कहिल्यै अन्यत्र सर्नुपरेन । व्यापक भ्रष्टाचार हुने मालपोत सधैँ मदनकुमारको रोजाइको अड्डा बन्यो । खरिदारका रूपमा २७ असार ०४७ देखि मालपोत कार्यालय मुस्ताङबाट जागिर सुरु गरेका उनी १७ वर्षपछि ०६४ मा मात्रै नायब सुब्बामा बढुवा भए । त्यसपछि मालपोत कार्यालय पर्सा सरुवा भएका उनी पछिल्लो समय बारा मालपोत पुगेका थिए । मुस्ताङमा खरिदारदेखि बारामा निमित्त कार्यालय प्रमुख बन्दासम्म मदनकुमारले १९ करोड कमाए, तर १४ करोड ८१ लाख अवैध देखिएको छ । ०७५÷७६ को साउनदेखि १२ फागुनसम्म सिमरा मालपोतमा रहँदा मात्रै उनले राजस्वबापतको साढे चार करोड हिनामिना गरेको अख्तियारको अनुसन्धानमा भेटिएको छ । अख्तियारका आयोगका अनुसार मदनकुमारले कमाएको १९ करोडमध्ये चार करोड ५४ लाख मात्रै वैध आर्जन भेटिएको छ ।
मदनकुमारको परिवारका सदस्यका नाममा चार करोड आठ लाखको घर र ९० लाखको जग्गा छ । त्यस्तै, व्यवसायमा ७१ लाख लगानी छ । उनले २७ लाखको गाडी किनेका छन् । छोराको विवाहमा ६१ लाख खर्च गरेका उनले ४३ लाख सापटी दिएको अख्तियारले जनाएको छ । उनले आफू र परिवारका सदस्यबाहेकका नाममा पनि सम्पत्ति राखेका छन् । कविताकुमारी गुप्ता, राजेशकुमार गुप्ता र इन्दिरादेवी काफ्लेलगायतका नाममा पाँच करोड २७ लाखको घरजग्गा र नीरजकुमार गुप्ताको नाममा ४० लाखको जिप खरिद गरेका छन् । त्यस्तै, राजेशकुमार गुप्ताकै नाममा निशान ट्रेडर्स नामको पेट्रोल पम्पमा ४० लाख लगानी गरेका छन् । आफू र अन्य व्यक्तिको नाममा गरी दुई करोड ८५ लाख बैंक खातामा मौज्दात रहेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
स्रोत नखुलेको १४ करोड ८१ लाख ८९ हजार रुपैयाँबराबर सम्पत्तिको बिगो मागदाबी गर्दै अख्तियारले उनीविरुद्ध १० मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदालतले उनीसँग एक करोड धरौटी माग गरेकोमा बुझाउन नसकेपछि हिरासतमा छन् ।
श्यामकृष्ण च्यामु श्रेष्ठः विमानस्थलको रेडियो अपरेटर रहेर १४ करोड अवैध कमाई, सुन तस्करीमा ‘कनेक्सन’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब ३३ केजी सुन प्रकरणमा जोडिएका एक पात्र हुन्, श्यामकृष्ण च्यामु श्रेष्ठ । विमानस्थलमा रेडियो अपरेटर ९नायब सुब्बा० रहेर उनले पनि १४ करोड अकुत सम्पत्ति जोडेको खुलेको छ । ५ चैत ०५३ मा सरकारी सेवा प्रवेश गरेका श्यामकृष्णले ०७५ सम्म झण्डै २४ करोड कमाएका छन् । तर, अख्तियारको अनुसन्धानमा ९ करोड ६३ लाखमात्रै बैध भेटिएको छ । यो रकम आफ्नो पारिश्रमिक, परिवारका सदस्यसमेतको नाममा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, परिवारका अन्य सदस्यको आय, घर÷जग्गा बिक्री, सवारी साधन बिक्रीबाट आर्जन गरेका हुन् । तर, उनीसँग रहेको थप १० करोड ११ लाख र त्यही रकम लगानी गरेर जोडेको साढे ४ करोड अवैध देखिएको अख्तियारले जनाएको छ । स्रोत खुल्न नसकेको १४ करोड ६१ लाख दुई श्रीमती, बाबुआमा, दाजुभाइ, बुहारीसमेतका नाममा र लुकाएर राखेका थिए ।
उनले जग्गा खरिदमा साढे दुई करोड, घर निर्माणमा चार करोड, अध्ययन खर्चमा १० लाख र व्यवसायमा साढे पाँच करोड लगानी भएको देखाएका छन् । त्यस्तै, साँवाब्याज भुक्तानीमा पौने चार करोड, सवारी साधन खरिदमा सवा २ करोड, बैंक मौज्दात ८६ लाख, घर बहाल कर साढे ३ लाख, फ्ल्याट खरिदमा ९२ लाख, बकस तथा अंशबण्डा दस्तुर दस्तुर ७१ हजार र सेयर खरिदमा ३५ हजार गरी १९ करोड ७४ लाख लगानी भएको देखाएका छन् ।
आयोगले गत १५ माघ ०७५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, काठमाडौंका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध साढे १४ करोड रुपैयाँ बिगो मागदावी गर्दै अदालतमा मुद्दा दायर गर्‍यो । उनी डेढ करोड धरौटी बुझाएर रिहा भए ।
सुरेश अधिकारीः यातायातका लेखापाल, खुलाउन सकेनन् ५ करोड सम्पत्तिको स्रोत, तीन श्रीमतीदेखि सासुको नाममा लुकाए
यातायात व्यवस्था कार्यालय सवारी कोशीका लेखापाल ९नायब सुब्बा० सुरेश अधिकारीले १६ असोज ०५९ देखि १७ वर्ष सरकारी जागिर गरे । यो अवधिमा बैधानिक स्रोतबाट आर्जित सम्पत्ति ८८ लाख ३४ हजार मात्रै छ । यो तलवभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जा लगायतको वैधानिक स्रोतबाट आर्जित रकम हो । तर, वास्तविक आम्दानीको झण्डै ६ गुणा अर्थात ५ करोड १० लाख अवैध रुपमा जोडेको भेटिएको छ ।
अख्तियारले उनको आयरव्याय, आर्जन गरेको सम्पत्तिको विश्लेषणसहित अनुसन्धान गरेको थियो । गैरकानूनी रुपमा जोडेको सम्पत्ति उनले आफूसहित तीन श्रीमती, सासु र मामासमेतका नाममा राखेको भेटिएको थियो । गत २३ वैशाखमा अख्तियारले अवैध सम्पत्तिको विगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो । उनी अदालतले मागेको ६ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
रामप्रसाद भट्टराई : भन्सारका सुब्बा, ३ करोड कमाए, २ करोड अवैध
कञ्चनपुर भन्सारका तत्कालीन नासु रामप्रसाद भट्टराईले सार्वजनिक सेवामा रहँदा एक करोड १४ लाखको सम्पत्ति वैध रुपमा जोडेका छन् । तर, अख्तियारले छानविन गर्दा उनको थप दुई करोड सम्पत्ति पनि भटियो जसको स्रोत भने भेटिएन ।
सार्वजनिक सेवा सुरु गरेयता पाएको पारिश्रमिकको बचत, पुरस्कार, प्रोत्साहन भत्ता तथा कमिसन आय, कृषि आय, घर बहाल, जग्गा, शेयर बिक्री, भत्ता, कर्जासहितको आयआर्जन जोड्दा एक करोड १४ लाख वैध देखिएको अख्तियारले जनाएको छ । तर, यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सेयर खरिद, कर्जा भुक्तानी, कर भुक्तानी, अध्ययन खर्चलगायतमा लगानी गरेका छन् । लगानी र बैंक ब्यालेन्ससमेत गरी उनको सम्पत्ति तीन करोड १४ लाख भेटिएको अख्तियारले जनाएको छ । भन्सारमा रहँदा नै उनले धेरै अवैध सम्पत्ति जोडेको अख्त्यिारको दाबी छ । अख्तियारले गत ३ असारमा दुई करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । उनी अदालतले तोकेको ८० लाख धरौटी बुझाउन नसकेपछि थुनामै छन् ।
ललितकुमार झाः मुखियाको पदबाट जागिर सुरु, अध्यागमनमा बसेर कमाएको डेढ करोड अवैध
मुखियाको पदबाट सरकारी सेवामा प्रवेश गरेका ललितकुमार झाले ३६ वर्षमा झण्डै ४ करोड सम्पत्ति जोडे । यो सम्पत्ति १७ असार ०४० देखि जेठ ०७६ सम्ममा जोडेका हुन् । तर, १ करोड ५६ लाख सम्पत्तिको स्रोत नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
जागिरको लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा रहेका उनी पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबास सरुवा भएका थिए । तलब, भत्ता, कर्जा, सेयर तथा जग्गा बिक्री लगायतबाट उनले २ करोड २८ लाख वैध रुपमा आर्जन गरेको भेटियो । तर, उनी र श्रीमतीको नाममा रहेको बैंक ब्यालेन्स तथा सेयर तथा घर, जग्गा र गाडीलगायतमा गरेको लगानी तीन करोड ८५ लाख भेटिएको अख्तियारले जनाएको छ । यसरी स्रोत नखुलेको १ करोड ५६ लाखलार्य बिगो मान्दै अख्तियारले झाकी ललितकुमारकी श्रीमती सुचितादेवीसमेतलाई प्रतिवादी बनाएर १५ असारमा मुद्दा दायर गरेको छ । तर, ललितकुमार फरार भएकाले अदालतले म्याद तामेल गर्न सकेको छैन ।
रंगेहात पक्राउ पर्नेमा नासु नै बढी ? अनियमिततामा किन मुछिन्छन् नासु ?
भ्रष्टाचार र घुस प्रकरण रंगेहात पक्राउ पर्ने निजामती कर्मचारीमा नायब सुब्बा नै बढी छन् । आर्थिक वर्ष ०७५र७६ मा रंगेहात पक्राउ परेका एक सय ६१ कर्मचारीमध्ये ४७ जना सुब्बा छन् । ३२ शाखा अधिकृत, २९ खरिदार, २४ कार्यालय सहयोगी, १५ जुनियर कर्मचारी, १० उपसचिव, दुई सहसचिव र दुई सचिव छन् ।
निजामती सेवामा नासु तल्लो पद हो । तर, सेवा प्रवाहमा नासुको जिम्मेवारी अग्रपंक्तिमा रहन्छ । सरुवा भइरहने उपल्लो तहका हाकिमले हत्तपत्त सरुवा नहुने नासुसँग कामको सहजताका लागि पनि विश्वासमा लिन चाहन्छन् । आमसेवाग्राही र हाकिमबीच सम्पर्क सेतुको भूमिकामा नासु नै हुन्छन् । त्यसैले कार्यालयमा चलायमान रहने नासुले चाहेको अवस्थामा अपचलन गर्न सक्छन् । भ्रष्ट नियतका हाकिमले पनि नासुलाई नै परिचालित गरेका घटना छन् । त्यसो त सरकारी सेवाको सुरुवाती चरण भएकाले नासुको महत्वाकांक्षा पनि बढी हुन्छ । यसले उनीहरूलाई अपलचनतिर आकर्षित गर्छ । यसैतर्फ लक्षित गर्दै केही दिनअघि अख्तियारमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भनेका थिए, ‘जागिर खाएको दुई–चार वर्षमै करोडपति हुने लहर कर्मचारीमा पलाएको छ ।’
पूर्वसचिव पूर्णचन्द भट्टराई भन्छन्–एउटै कार्यालयमा लामो समय रहने कर्मचारीबाट बढी चलखेल हुन्छ
हाम्रो कर्मचारीतन्त्रलाई अस्थिर बनाइएको छ । अधिकृत तहमा पुगेको कुनै पनि कर्मचारी लामो समय एउटै कार्यालयमा रहन पाउँदैन । तर, त्यसभन्दा तल्ला श्रेणीका कर्मचारीमा अक्सर बढी स्थायित्व देखिन्छ । एउटै निकाय वा कार्यालयमा लामो समय रहने कर्मचारीलाई चाहेको अवस्थामा चलखेल गर्न तुलनात्मक रूपमा बढी सहज हुन्छ । तर, अनियमितता नासुको तहमा मात्र छ भन्ने होइन । यो समाचार नयाँ पत्रिका दैनिकमा सुवास भट्टाले लेखेकाछन् । यो समाचार नयाँ पत्रिका दैनिकमा सुवास भट्टाले लेखेकाछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।