काभ्रे । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ’बालबालिकाहरुको जीवनको जिम्मेवारी अभिभावकहरुको हातमा‘ निर्भर रहेको बताएका छन् । जिल्ला बाल क्लव सञ्जाल, काभ्रेको पाँचौ जिल्ला बाल भेलाको शनिबार बनेपामा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘समयसँगै समाज बदलिएको छ । अधिकारका लागि बालबालिकाहरुको गर्भ देखिकै संरक्षण गरिनु पर्छ ।’ मन्त्री बास्कोटाले भने, ’बालबालिकाहरुको जीवनको जिम्मेवारी अभिभावकहरुको हातमा निर्भर हुन्छ । परिवार, छिमेकी, समाज हुँदै विद्यालयबाट भविश्य निर्धारण हुन्छ ।’ बालबालिकाहरुलाई संस्कार, सभ्यता, चेतना सँगै शिक्षा प्रदान गर्नु पर्नेमा बाँस्कोटाले जोड दिंदै उनले बालबालिकाहरुलाई विद्यालय क्षेत्र बाहिर नराख्न सरकारले दिवा खाजा लगाएतका सेवा सुविधाहरु उपलब्ध गराउन थालेको बताए ।
पढेर मात्रै होईन चेतना र अनुभवले पनि बालबालिकाहरुको भविश्य निर्धारण गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले जिउने कला र वातावरण बनाउनु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, एसओएस बालग्रामका निर्देशक इश्वरी पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, कृष्णचन्द्र आचार्य, संस्थापक अध्यक्ष निगम हुमागाई लगायतको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।