आलस
शरीरलाई तातो बनाइराख्न आलसको सेवन प्रभावकारी मानिन्छ। आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने। खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने। आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले दिमागलाई सामथ्र्यशील बनाउन मद्दत गर्छ भने शरीरलाई तातो बनाइराख्छ।
तिल
हामीहरू जाडो मौसममा तिल खान्छौँ। खास गरी माघेसंक्रान्तिमा तिलको लड्डु खाने परम्परा छ। तिलले शरीरलाई तताउने भएकाले उल्कै जाडो हुने माघमा तिलको लड्डु खाने सांस्कृतिक विधान बनाइएको हो। संक्रान्तिको दिन खाने तिललाई हामीले दैनिक भोजनमा सामेल गर्नुपर्छ। आफ्नो स्वाद र इच्छाअनुसार लड्डु, पाउडर वा जुनसुकै रूपमा पनि तिलको सेवन गर्न सकिन्छ।
काजु, पिस्ता र बदाम
काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ। अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।
अदुवा
सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ। बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्रीरोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ। जाडो सुरु भएपछि पाँच–पाँच ग्राम काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ।
बेसार
बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्‍याउँछ। जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ।
सुप
जाडोमा सुप बनाएर खानुपर्छ। सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो। त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ। गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ। यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ।
चिकेन सुप
चिकेनले शरीरलाई तातो दिन्छ। तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सक्नुहुन्छ। खास गरी, युरोपतिर चिकेन सुपलाई रुघाखोकी भगाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ। युरोपका धेरै देशमा अत्यन्तै जाडो हुन्छ। ती देशमा जाडोबाट बच्न चिकेन सुप खाने प्रचलन छ।
जौ, गहुँ र फापर
हामी नेपाली भातप्रेमी छौँ। भात हाम्रो जिन्दगीको अभिन्न अंश हो। तर, जाडो याममा यसलाई शरीरका लागि उपयुक्त मानिन्न। किनकि, भातले शरीरलाई चिस्याउँछ। भात गर्मीका लागि राम्रो हो। जाडो समयमा खाने सबैभन्दा राम्रो अन्न जौ हो। जौ नभए गहुँबाट बनेका परिकार खानुपर्छ। सम्भव भए फापरका परिकार पनि अत्यन्तै लाभकारी हुन्छन्। थायराइड लगायतका समस्या हुनेहरूले गहुँ खानु हुँदैन। उनीहरूका लागि फापर उपयुक्त हुन्छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।