काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ’नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताएका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ मन्त्री बाँस्कोटाले भने, ’नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने छ । पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न म अग्रह गर्दछु ।‘
पर्यटनको विषेशताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
‘हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ नै, तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नेतर्फ लाग्नेछौँ ।’ उनले भने, ’नेपालको सयमध्ये काभ्रेमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ ट्रेलको बोलपत्र आह्वान भइसकेको छ त्यति मात्र होइन, नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाएका छौं ।‘
मन्त्रीद्वारा बिजेता पुरस्कृत
कार्यक्रममा मन्त्री बाँस्कोटाले म्याराथुनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । २१ किलोमिटर लामो दूरीको म्याथुनमा २७ जना सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















