काठमाडौं। दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमति इला शाही अपहरणमा परेका छन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शाहीलाई शनिबार अपहरण गरेको हो। ठाँटीकाँध २ को श्रीपाटामा रहेको उनको आफ्नै घरबाट अपहरण गरेको प्रहरीले जनाएको छ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारीले इन्द्रबहादुर क्षेत्रीले प्रारम्भिक विवरणमा दुबै जना अपहरणमा परेको देखिएको जनकारी दिए। ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने। गाँउपालिका अध्यक्ष कि श्रीमति इला ठाँटीकाँधस्थित कृष्ण माध्यमिक विद्यालय कि प्रधानाध्यापक हुन्।
कर्णाली प्रहरीका प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले शाहीको खोजीका लागि प्रहरी परिचालन भइसकेको बताए। नेकपाका विदेश विभाग उपप्रमुख रहेका नेता विष्णु रिजालका अनुसार शाही दम्पत्तिलाई हिजो राती ठाटीकॉध(२ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लिएको जानकारी दिएका छन्।
रिजाल दैलेख निवासी हुन्। उनले फेसबुकमा लेखेका छन्( इला शाहीलाई बीच जंगलमा छाडिएको छ, धीरबहादुर शाहीलाई भुवानथानतिर लगिएको छ। दैलेखमा डिएसपी हरि ओली, सुर्खेतमा डिआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको रिजालले बताएका छन्।
‘लेकमा हिउँ परेको छ, दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको छ,’ रिजालले लेखेका छन्, ‘विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाही दम्पत्तिलाई अविलम्ब रिहा गर्न आग्रह गर्दछु।’
गत वर्ष सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाले जनप्रतिनिधिसँग तीव्र रूपमा चन्दा असुली गरे पनि जनप्रतिनिधिलाई अपहरण नै गरेको यो पहिलो घटना हो। गाँउपालिकाको बजेटका विषयमा सो विप्लव नेकपाले यसअघि पनि शाहीलाई धम्काउदै आएको बताइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















