काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक पत्रकारहरुको संगठन प्रेस सङ्गठन नेपालको एकतापछि पहिलो भेला आगामी पुष १२ गते हुने भएको छ । भेलामा शपथ ग्रहण समेत हुने संगठनका सह–संयोजक गणेश बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने छ ।
सङ्गठनका संयोजक महेश्वर दाहाल र सह९संयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिई प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिएका थिए। भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ।
तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो । सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ। बस्नेतका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष आतिथ्यतामा भेला हुने तय भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।