काठमाडौ । मंसिर २९ गते सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक सात दिनसम्म चलेर आइतबार सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले महत्त्वपूर्ण ५ वटा निर्णय गरेको छ । त्यसमध्ये बहुचर्चित विषय बनेको एमसीसीबारे भने स्थायी समिति बैठकले ठोस निर्णय गर्न सकेन । यसबारे केही अमेरिकाले इण्डोप्यासिपिफक रणनीतिमा नेपाललाई राखेको हटाउनुपर्ने र एमसीसीबारे भएको सम्झौतामा राखिएका केही असमनाताका बुँदा संशोधन गरेपछि मात्रै अनुमोदन गर्न सक्ने कार्यदेश दिएको छ । त्यसपछि बाँकी निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको छ ।
त्यस्तै बैठकले कालापानी सीमा समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिनुका साथै अन्य समसामयीक विषयमा समेत निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफलपछि पारित गरेको छ ।
स्थायी कमिटी सदस्यहरुले बैठकमा राखेका विचार, सुझाव र धारणाहरूको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गरेर अध्यक्ष ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गरेपछि उक्त प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको हो ।
त्यस्तै पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सदस्यहरुको सुझाव र धारणाहरूको आधारमा अन्तिम रुप दिई आगामी पुस २३ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित भएको छ ।
स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठक आगामी २०७६ साल पुस २३ गतेदेखि राजधानी काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय कमिटीको आगामी बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी सांगठानिक कामहरू ९आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसंगठन० पूरा गरिसक्ने समेत निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।