धुलिखेल । काभ्रे जिल्लाको धुलिखेलमा यूएस डलर देखाई एक व्यक्तिको १५ लाख ठगी भएको छ । दुई जना मोटरसाईकलमा आएका अज्ञात व्यक्तिहरुले धुलिखेल नगरपालिका वडा नं. ६ स्थित धुलिखेल अस्पतालको नर्सीङ होस्टेल पछाडिको झाँडीमा लगी ठगी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएको छ ।
रुकुम मुसीकोट नगरपालीका वडा नं. २ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं. २३ धापाखेल बस्ने दिपेन्द्र खड्काले आफू ठगीमा परेको निवेदन जिल्ला प्रहरी कार्यालय काभ्रेमा पेश गरेको डिएसपी गिरिले जानकारी दिएका छन् ।
पिडित खड्काका अनुसार नामथर वतन खुल्न नआएको २ जना पुरुष ब्यक्तीहरुले बिदेशीको भारी बोक्ने ट्रेकिङ्गको क्रममा फेला पारेको यूएस डलर ३५,०००(पैतीस हजार) रहेको उनलाई बताएका थिए ।
उक्त रकम सटही गर्ने ठाउँ थाहा नभएको भन्दै खड्कासँग ‘कोही छ’ भनि सोधेकोमा आफूले डलर देखाउन अनुरोध गरेका थिए ।
खड्कालाई उनीहरुको बिश्वासमा पारी रुमालमा पोको पारेको एक पोका दिई उनको साथमा भएको नेपाली रुपैया १५ लाख लिई गएका थिए । रुमाल खोली हेर्दा डलरको आकारमा काटछाट गरेको कागजको बिट्टा मात्र भएको खड्काले प्रहरीलाई जानकारी गराएका छन् ।
ठगी गर्ने दुईजनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















