काभ्रे । जिल्ला प्रहरी कार्यालय, काभ्रेले काभ्रेका सबै स्थानीय तहलाई प्रशंशा–पत्र वितरण गरेको छ । ‘अपराध रहित समाजको सुनिश्चितता, सुरक्षित काभ्रे हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ प्रहरीले शुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएको भन्दै सबै स्थानीय तहलाई प्रहरी महानिरिक्षक सर्बेन्द खनालद्वारा उपलब्ध गराईएको प्रशंशा पत्र वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले पालिका प्रमुखहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा पालिका प्रमुखहरुले प्रशंशा पत्रका लागि भन्दा समाज प्रतिको उत्तरदायित्व सम्झेर कार्य गरिरहेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले बताए ।

दिन प्रति दिन बढ्दै गईरहेको सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न तथा सहज सवारी आवागमन र सुरक्षित यात्राको लागि सरोकारवाला निकायहरु बिचको एकिकृत सहभागिताबाट सडक सुशासन कायम गरी सभ्य र समृद्ध समाजको निर्माण गर्ने उदेश्यले प्रहरीले स्थानीय सरकारका प्रमुखहरुसँग अन्तरकृया कार्यक्रम आयोजना गरेको प्रमुख रविकुमार पौड्यालले जानकारी दिए । प्रहरी प्रमुख एसपी पौड्यालले स्थानीय सरकारले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत अपराध न्यूनीकरण भएकाले सरकार प्रमुखहरुलाई प्रशंसा पत्र वितरण गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मुलुकको विकास र समृद्धका लागि सवारी दर्घटना न्यूनीकरणमा सकारका प्रयासलाई सबै पक्षले सहयोग गर्नु पर्ने बताए । ‘सडक सुशासन कायम गर्ने, दुर्घटना न्यूनीकरण गर्ने, ट्राफिक सम्बन्धी ऐन नियमको पालना गराउने, सरोकारवाला निकाय बीच सहकार्य गर्ने, सडक सुरक्षा उपाय सम्बन्धी बिश्लेषण गर्ने, सुन्दर शहरको निर्माण गर्ने हाम्रो उदेश्य छ ।’ –प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भने ।
जिल्लाको सडकको अवस्था
जिल्लामा १ हजार ६ सय ९२ किलोमिटर सडक निर्माण भएको छ भने पक्की सडक ३ सय ३० किलोमिटर रहेको छ । कच्ची धुले ५ सय ४ किलोमिटर रहेको छ । ग्राभेल सडक १ सय ८८ किलोमिटर रहेको छ । जिल्ला भित्र अरनिको लोकमार्ग ३८ पर्दछ । बि.पी. लोकमार्ग ५५ किलोमिटर पर्दछ ।
सडकको समस्या
सवारी दुर्घटनामा सडक अतिक्रमण, बस पार्क तथा पार्किङ स्थलको अभाव, आवश्यकता अध्ययन नगरी जथाभावी विद्युतीय रिक्सा, सिटी सफारी दर्ता र संचालन, समयमै सडक मर्मत नहुनु, सांघुरो सडकको विस्तार र बैकल्पिक बाटोको व्यवस्था नहुनु, रोड मार्किङ्ग, ट्राफिक सिग्नल, ट्राफिक बत्ति पर्याप्त व्यवस्था नहुनु, व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरुले सवारी साधन सडकमा नै पार्किङ गरी राख्नु, स्थानीय निकायहरुले फुटपाथ व्यवस्थापन नगर्नु, ट्राफिक व्यवस्थापनलाई प्रविधी मैत्री बनाउन नसक्नु जस्ता समस्याहरु छन् ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, जिल्ला समन्वय समिति सदस्य प्रेम लामा, चौरी देउराली गाउँपालिका प्रमुख दिनानाथ गौतम, महाभारत गाउँपालिका प्रमुख कान्छालाल जिम्बा, बेथान्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, रोशी गाउँपालिका प्रमुख डिबी लामा, खानीखोला गाउँपालिका प्रमुख कृष्णबहादुर खुलाल, तेमाल गाउँपालिका अध्यक्ष सलामसिं लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, पनौती नगरपालिका वडा अध्यक्ष बुद्धसिं थापा, यातायात ब्यवसायीहरु आत्मराम थापा, राजेशसुन्दर सैँजु, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु लगायतले सडक सुरक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिवता ब्यक्त गरेका थिए ।
प्रविधि मैत्री बनानुपर्नेमा जोड
प्रहरी प्रमुख एसपी पौड्यालले जिल्लाका लागि तत्काल विभिन्न स्थानमा राडार गन, सिसि क्यामेरा, ट्राफिक जनचेतना जगाउने सचेतनामुलक बोर्डहरु, पर्याप्त सडक बत्ति, ओभरटेक निषेध, नो पार्किङ्ग, रोक्न निषेध, हर्न निषेध, बिसौनि बोर्ड, दुर्घटनाग्रस्त बोर्ड, अस्पताल बिद्यालय जानकारी, गति सिमित बोर्ड, यु टर्न निषेध, सांगुरो पुल जानकारी, जेब्रा क्रस लगायतका विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु पर्ने बताए ।
राडार गन मंगलटार, भकुण्डेबेशी, धुलिखेल, बनेपा, पाँचखाल, पनौतीमा राखिनेछ । सिसी क्यामेरा मंगलटार, भकुण्डेबेशी, काभ्रेभन्ज्याङ्ग, धुलिखेल चोकमा, पाँचखालमा राखिने छ ।
सडक दुर्घट्नाको अवस्था
चालु आर्थिक वर्षको ६ महिनामा ३७ जनाको मृत्यु भएको छ । २ सय २२ जना घाईते भएका छन् । १ सय ७९ वटा दुर्घटना भएका छन् । ट्राफिक प्रहरीले चालु वर्षको ६ महिनामा १२ हजार ३ सय सवारी साधनबाट १ करोड २ लाख २० हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।