काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग उप–प्रमुख जनार्दन शर्मा प्रभाकरले डाँडापारिका समस्या समाधानका निम्ति आफू सदैव लागि पर्ने बताएका छन् ।
जिल्लाको डाँडापारिस्थित् महाभारत गाउँपालिकाको भवन उद्घाटन तथा साक्षर गाउँपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृह तथा ऊजामन्त्री समेत रहेका शर्माले डाँडापारिका विकासका निम्ति आफूले लिनुपर्ने कुनै पनि पहकदमी बाँकी नराख्ने बताएका हुन् ।
महाभारत आउँदा आफूलाई विकट रुकुम पुगेको जस्तै अनूभुति भएको भन्दै उनले भने, ‘हामीले यहीँको माटो, यहीँको जमिन, यही वन र यही स्रोत साधन प्रयोग गरेर डाँडापारिलाई विकसित बनाउने हो, अन्य विकास निर्माणका निम्ति सरकारले गर्न सक्ने काम र मैले गर्नुपर्ने पहलकदमीमा कुनै कमी रहने छैन ।’
नेता शर्माले स्थानीय तहदेखि केन्द्रसम्म नेकपाकै सरकार रहेकाले विकास निर्माणका कुनै पनि काममा अब ढिलासुस्ती नहुने समेत बताए । ‘स्थानीय तहदेखि केन्द्रसम्म नेकपाकै सरकार छ, अब विकास निर्माणका कुनै पनि काममा बिलम्ब हुँदैन’ उनले भने, ‘डाँडापारि विकासका निम्ति कहाँ कसरी सघाउनुपर्छ, म तयार छु ।’
नेता शर्मासमक्ष महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाभित्रका विकास निर्माणका समस्याहरु समेत राखेका थिए ।
सो समस्या समाधानका निम्ति आफूले सम्बन्धित निकायमा पहल गर्ने नेता शर्माले आश्वसन दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।