काभ्रे । जिल्लाको महाभारत गाउँपालिकाको निर्माण सम्पन्न भएको कार्यालय भवन उद्घाटन तथा साक्षर गाउँपालिका घोषणा भएको छ ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य, पूर्व मन्त्री तथा संघीय सांसद जनार्दन शर्मा (प्रभाकर) ले सोमबार एक कार्यक्रमका बीच कार्यालय उद्घाटन तथा साक्षर गाउँपालिका घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले ग्रामिण भेगको विकासको मोडल बदल्नुपर्नेमा जोड दिंदै उपभोक्ता समितिले गर्ने काम श्रम सहकारी मार्फत गर्नुपर्ने बताए । ‘उपभोक्ता समिति खारेज गरिनु पर्छ, उपभोक्ता समितिले गर्ने काम श्रम सहकारी गठन गरी शुरु गर्नु पर्छ ।’–शर्माले भने– ‘श्रम सहकारीको मोडलमा गरिएको विकास दिगो र स्थायी मात्रै हुँदैन, अनियमितता समेत रोक्न सकिन्छ ।’

महाभारतमा पुगेर के भने शर्माले (संपादित अंश)
हरेक जनप्रतिनिधिले आफूलाई जनताको प्रतिनिधिको रुपमा बुझ्नुपर्छ र जनताको आज्ञाअनुसार कामलाई अगाडि बढाउनुपर्छ । मुख्य गरी स्थानीय सरकार गर्ने तीनवटा काममा जोडदिनुहोला ।
पहिलो कुरा हो, शिक्षा । शिक्षा नभई हाम्रो समाज सम्पन्न, विकसित् अथवा सुसँस्कृत हुन सक्दैन । त्यसैले शिक्षालाई बलियो बनाउनका लागि गाउँपालिकाले शिक्षामा लगानी बढाउनुपर्छ, शिक्षकहरु बढाउनुपर्छ, गुुणस्तर शिक्षाको लागि ।
विद्यार्थीहरुको भविष्य राम्रो पार्ने । हामीले त युद्ध र आन्दोलनमा सहभागी भएर राजनीतिक परिवर्तनका लागि समय बितायौँ । अबको हाम्रो दायित्व भनेको अहिलेको पुस्ताको जीवन सुखी र सम्पन्न बनाउन शिक्षामा लगानी गर्नुपर्छ । एउटा प्राविधिक शिक्षा सुरु भएको छ, अन्य शिक्षाहरु पनि सुरु गर्नुपर्छ ।
दोस्रो भनेको जनताको स्वास्थ्यमा ध्यान दिनुपर्छ । गरिबहरुले निशुल्क उपचार पाउने व्यवस्था अब गाउँपालिकाले गर्न जरुरी छ । यहाँका सबै जनताको उपचारको व्यवस्था हुने गरी गाउँपालिकाले काम थाल्नुपर्छ ।
डाँडापाखाहरु, बारी खेतहरु जे छन्, यसमा उत्पादनको वृद्धि गर्ने्तिर गाउँपालिकाले ध्यान दिनुपर्छ । उत्पादनमा ध्यान दिन सक्यो भने यो गाउँपालिका सबैभन्दा बढी धनी हुन्छ । आधुनिक र नयाँ ढंगले उत्पादनमा केन्द्रित भएर किसानहरुलाई बोटविरुवा वितरण गर्ने, प्रविधि, तालिम सहयोग गर्न प्रदेशमा पनि बजेट छ, प्रदेशका माननीयज्युहरुलाई त्यसमा ध्यान दिनुस् । जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउनुपर्छ, त्यो उत्पादन वृद्धि गरेर ल्याउने हो । हामीसँग भएको यही जंगल हो, जमिन हो, यहीबाट हामीले जनताको आर्थिक वृद्धि गर्ने हो ।

तेस्रो कुरा भनेको यहाँका सरकाका कामहरु गर्दा, भवन बनाउँदा, बाटो बनाउने उपभोक्ता समिति खारेज गर्नुहोस्, उपभोक्ता समितिबाट नगर्नुस् । मेरो के सुझाव छ भने श्रम सहकारी बनाएर काम गर्नुस् । ५०, १००, २००, ५०० जनाको श्रम सहकारी बनाएर त्यसमार्फत् काम गर्नुस् । त्यसो गर्दा काम दीगो पनि हुन्छ, त्यहाँ हिनामिना हुँदैन ।
गाउँपालिकाले गरेको प्रयास, यहाँका माननीयज्युहरुले गर्नुभएको प्रयास गरिरहनुभएको छ । पारदर्शी भएर तपाईहरु अगाडि बढ्नुहोला । जनताले उठाउने हरेक प्रश्नको जवाफ दिनुहोला ।
अध्यक्ष जिम्बाद्वारा गाउँपालिकाको समस्या अवगत गराए
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले भोगिरहेका विविध समस्याहरुका बारेमा सांसद तथा पूर्व मन्त्री शर्मालाई अवगत गराएका थिए । निर्वाचित भएसँगै स्थानीय क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहेको बताउँदै अध्यक्ष जिम्बाले सडकको स्तरोन्नती र आयआर्जन मुलक कार्यका लागि योजना बनाउने बताए ।

गाउँपालिकालाई जग्गा प्रदान गर्ने सम्मानित
कार्यक्रममा गाउँपालिका कार्यालयका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
यस अघि कार्यालय निर्माणका लागि महाभारत गाउँपालिका ६ का सुनबहादुर बलले ४ रोपनी, बुम्बा दोर्जे लामा २ रोपनी १ आना १ पैसा ३ दाम, काजिमान मुत्तान १–८–२–१, दर्जमान मुक्तान १–४–३–३, बोरसमान मुक्तान १ रोपनी, भिमबहादुर थिङ्ग ०–१५–०–२, बखतमान माझी ०–१२–०–०, जगतबहादुर माझी ०–१२–०–०, जगतबहादुर अस्तानी ०–१२–०–०, पदमबहादुर माझी ०–१२–०–०, लबध्वज वाईवा ०–१०–०–०, बमबहादुर अस्तानी ०–७–१–०, छेवाङ्ग दोर्जे लामा ०–६–३–२ जग्गा निशुल्क दान गरेका थिए । जग्गादान गर्ने दाताहरुको नाम गाउँपालिकाले शिलालेखमा उल्लेख गरेको छ ।
कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज), नेकपाका नेता तथा पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज), वागमती प्रदेशका सांसदद्वय रत्न ढकाल र चन्द्रबहादुर लामा, नेकपा काभ्रेका अध्यक्ष रुकु चौंलागाईं र सचिव टोक बहादुर वाइबा लगायतका सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।