काठमाडौं । नेकपाका सांसद अग्नी सापकोटाले प्रतिनिधि सभाको सभामुख पदको लागि मनोनयन दर्ता गराउनुभएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक र समर्थकमा सांसदहरु ओनसरी घर्ती, देव गुरुङ र राजपा नेपालबाट निर्वाचित सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।
संघीय संसद सचिवालयले मनोनयन दत्र्ताका लागि बिहान ११ बजेदेखि दुई बजेसम्म समय निर्धारण गरेको छ । सांसद सापकोटा मनोनयन दर्ताका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, संघीय संसद भवन, ल्होत्से हल पुगेका थिए ।
संघीय संसद सचिवालयले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै मङ्गलबार मनोनयन दत्र्ताको समय निर्धारण गरेको थियो । तालिका बमोजिम आजै अपरान्ह २ बजेर ३० मिनेटपछि उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सूची प्रकाशन गरिनेछ ।
सभामुखका निर्वाचनका लागि प्रतिनिधिसभाको आइतबार तीन बजे बस्ने बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् प्रस्ताव निर्णयार्थ पेश हुने संसद सचिवालयले जनाएको छ ।
यता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरेको छ । जसअनुसार सापकोटा एक्लै सभामुखको उम्मेदवार बनेका छन् ।

Comments

comments