काभ्रे । जिल्लाको तीन स्थानीय सरकारले तामाङ समुदायको साँस्कृतिक पर्व २८५६ नाम्युङ सोनाम ल्होछारको उपलक्ष्यमा तीन दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । काभ्रेको तेमाल, रोशी र महाभारत गाउँपालिकाले सोनाम ल्होछारमा माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस अघि पनि तीनै तहले सार्वजनिक विदा दिएको थियो ।
तेमाल गाँउपालिकाले तामाङ समुदायको महान पर्व ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०७६ पौष २५ गते बेसेको छैटौ गाँउसभाको निर्णय अनुसार २८५६ औँ (जिवा ल्हो) मुसा वर्ष सोनाम ल्होछारको पावन अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको तेमाल गाँउपालिका भरिमा माघ १०, ११ र १२ गतेका दिन बिदा हुने सुचनामा उल्लेख छ । यस दिन तेमाल गाँउपालिका अन्तर्गत रहेका वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, लगायत सम्पुर्ण संघ संस्थाहरु बन्द हुने भनिएको छ ।

तेमाल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलले सो दिन बिदा दिने निर्णय भएको बताए । ‘तेमाल गाँउपालिकामा करीब ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ ।’ कुँईकेलले भने, ‘गाँउपालिका बासीले हर्सोल्लासका साथ सोनाम ल्होछार मनाउन बिदा दिइएको हो ।’
यसै गरि रोशी गाँउपालिकाले २८५६ सोनाम ल्होछारका अवसरमा यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मान जनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको बताए । सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको उनले बताए ।
महाभारत गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)का अनुसार माघ ९ गतेको गाउँकार्यपालिकाको बैठकले माघ १०, ११ र १२ गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायको बहुल्यता रहेको यस गाउँपालिकाले यस अघि पनि सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिएको थियो ।
तीनै वटा गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने क्रमलाई निरन्तरता दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।