पाँचखाल । काभ्रे जिल्लाको पाँचखालबासीले पाँचखालमै आँखाको उपचार पाउने भएका छन् । पाँचखालमा आँखा अस्पतालको शुरुवात सँगै काठमाडौं तथा बनेपा गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल बाह्य शाखा सञ्चालक कल्याण ढुंगानाले पाँचखाल ४ समाजकल्याण चोकमा आँखा उपचार केन्द्र स्थापना गरेका छन् । आँखा अस्पतालको उद्घाटन सँगै निशुल्क आँखा शिविर समेत सञ्चालन गरेका छन् ।
आज (शनिवार) आँखा अस्पतालको एक कार्यक्रमका विच पाँचखाल नगरका प्रमुख महेश खरेलले उद्घाटन गरेका थिए । उद्घाटन मन्तब्य राख्नुहुँदै नगर प्रमुख खरेलले विदेश तथा शहरमा रहेका युवाहरु गाउँमा आएर यस्तै व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए । समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आबश्यक रहेको बताउँदै उनले नगरपालिकाले मोतिविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा अस्पतालले नगरलाई सहयोग पुग्ने अपेक्षा समेत राखे ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी दनुवार, नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, स्थानीय जनप्रतिनिधि, स्थानीय बासीको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।