काभ्रे । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले तामाङ समुदायको बाहुल्यता भएको स्थानीय तहमा तीन दिन सार्वजनिक विदा दिनुपर्ने बताएका छन् । आज (शनिबार) लामा सेवा समाज, नमोबुद्ध–७ रजबम पोखरीको आयोजनामा भएको सोनाम ल्होछार कार्यक्रमलाई भकुण्डेमा सम्बोधन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।
सबै समुदायको चाडपर्वमा विदा दिंदै गयो भने समस्या आउने भएकोले बाहुल्यताको आधारमा विदा दिनुपर्नेमा जोड दिए । ‘काभ्रे जिल्लामा ३७ प्रतिशत तामाङ जातिको बसोबास रहेको छ । तामाङ समुदायको सबैभन्दा बढी बसोबास प्रतिनिधि सभा क्षेत्र नं. १ मा नै रहेको छ ।’ उनले भने, ‘त्यसैले बाहुल्यताको आधारमा सोनाम ल्होछारको समयमा यहाँको स्थानीय सरकारले ३ दिन सार्वजनिक विदा दिनुपर्ने हुन्छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बमध्वजले नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक विदा दिनुपर्ने बताउँदै प्रदेश सरकारले पनि तामाङ समुदायको बाहुल्यता रहेको वागमती प्रदेशको १० वटा जिल्लामा शुक्रबार सार्वजनिक विदा दिएको बताए ।
नेपालको सामाजिक बनौट विविधताले भरिपूर्ण भएकोले पनि पर्वमा विदा दिंदा समस्या आउने उनले बताए । ‘विविधताले भरिपूर्ण छ हाम्रो मुलुक ।सब रम्ने यो जमिनको रुपमा विकास गर्नुपर्छ ।’ उनले भने, ‘यो मुलुकमा १२३ वटा भाषा १२९ वटा जाति छन् । सबैलाई मान्य हुने वातावरण राज्यले सिर्जना गर्नुपर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















