नमोबुद्ध । वागमती प्रदेशका सांसद चन्द्र लामाले आफ्नो पर्व मनाउँदा अरु समुदायलाई असर पुग्ने कार्य गर्न नहुने बताएका छन् । आज (शनिबार) लामा सेवा समाज, नमोबुद्ध–७ रजबम पोखरीको आयोजनामा भएको सोनाम ल्होछार कार्यक्रमलाई भकुण्डेमा सम्बोधन गर्दै सांसद लामाले उक्त कुरा बताएका हुन् ।
उनले सबैको धर्म, साँस्कृति र पर्वलाई सम्मान गर्नुपर्ने बताए । ‘ल्होछार हामी सबैको चाड हो । हामीले अरुको चाडपर्वलाई बहिस्कार गरौं भनेर भड्काउने काम गर्नु हुन्न । हामीले उत्सब मनाउदा अरुको नाकमा नलागोस् ।’ सांसद लामाले भने, ‘सबै धर्मलाई समान रुपमा सम्मान गर्छौं ।’ जुनसुकै व्यवस्था आएपनि धर्म सँस्कृतिको संरक्षण गर्न आफूहरु कटिबद्ध भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आफूले निर्वाचनको क्रममा बोलेको कुरा के कति पूरा भयो समिक्षा गर्न जनसमुदायलाई सांसद लामाले अनुरोध गरे । आफूहरु अब बोलेर भन्दा पनि काम गर्न तल्लिन रहेको बताए ।
‘चुनावमा तपाईंको घरमा भोट माग्न आउँदा मैले के के बोलेको थिएँ ? बोलेको कुरा पूरा भयो कि भएन ? समिक्षा गर्नुहोस् ।’ लामाले भने, ‘त्यति मात्र होइन, तीनै तहको सरकारले गरेको कामको समिक्षा गर्नुहोस्, हामीलाई रचनात्मक सहयोग गर्नुहोस् ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।