नमोबुद्ध । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका सचिव एवं मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले जातै पिच्छेको पर्वलाई विदा दिन नहुने बताएका छन् । बागमती प्रदेशले सोनाम ल्होछारलाई सम्मान गरेको छ । आज (शनिबार) लामा सेवा समाज, नमोबुद्ध–७ रजबम पोखरीको आयोजनामा भएको सोनाम ल्होछार कार्यक्रमलाई भकुण्डेमा सम्बोधन गर्दै नगर प्रमुख वाईबाले उक्त कुरा बताएका हुन् ।
वाईबाले एउटामात्र जातको पर्वलाई तीन दिन विदा दिनु महत्वकांक्षी भएको समेत आरोप लगाए । ‘जातै पिच्छेको पर्वमा बिदा दियौ भने बिकास निर्माण कहिले गर्ने ?’ नगर प्रमुख वाईबाले भने ‘एउटा जातको चाडलाई ३ दिन बिदा दिनु महत्वाकांक्षी पो भो कि ? अन्य जातलाई अन्याय हुन्छ कि ?’
स्थानीय तह सञ्चालन ऐनले ६ वटा चाडमा मात्र बिदा दिने अधिकार दिएको बताउँदै आफ्नो नगरपालिकामा चाडहरु छनौट गरेर कार्यपालिकाले सर्वजनिक विदा दिने निर्णय गरेको बताए ।
कार्यक्रममा वाइबाले संबिधानले विभिन्न समुदायको भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न अधिकार दिए पनि लागु गर्न नसकेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।