भकुण्डे । तामाङ समुदायको साँस्कृतिक पर्व २८५६ नाम्युङ ल्हो सोनाम ल्होछारको अवसरमा काभ्रेको भकुण्डेमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ । ‘साँस्कृतिक बिबिधता हाम्रो पहिचान, यसको प्रबर्द्धन र संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लामा सेवा समाज वडा नं. ७ रजबम पोखरीको आयोजनामा आज (शनिबार) उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले नमोबुद्ध नगरपालिकाले ३ दिन सार्वजनिक विदा दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य इन्द्रबहादुर तामाङले ल्होछारमा ३ दिन सार्वजनिक विदा दिन नगर प्रमुख टिपी शर्मालाई अनुारेध गरे ।

‘तामाङ समुदायको बाहुल्यता भएको नमोबुद्ध नगरपालिकाले ३ दिन सार्वजनिक विदा दिन आवश्यक छ ।’ तामाङले भने, ‘तेमाल, रोशी र महाभारतमा तामाङले जितेकोले दियो यहाँ त बाहुनले जितेकोले दिएन भन्ने जन गुनासो सुनेको छु ।’
तामाङले नमोबुद्ध नगर प्रमुख शर्मालाई सम्प्रादायिक नहुन र जातिय सन्तुलन मिलाउन अनुरोध गरे । ‘जातिय सन्तुलन मिलाउनुहोस् । नगर प्रमुख ज्यूले सोच्नुहोला । नत्र गाह्रो पर्ला ।’

नेता तामाङको जवाफ दिंदै कार्यक्रममा नगर प्रमुख टिपी शर्माले आफूले यस अघिको सोनामा ल्होछारमा दुईदिन विदा दिंदै आएको प्रष्ट पारे । कार्तिक पूर्णिमाको दिन समेत नमोबुद्ध नगरपालिकामा विदाको व्यवस्था गरेकोले तीन दिन सार्वजनिक विदा दिन नसकेको उनले प्रष्ट पारे ।’
यो वर्ष भने नमोबुद्ध नगरपालिकाले प्रदेश सरकारले दिएका विदालाई नै सदर गरेर सूचना जारी गरेको थियो ।
कार्यक्रममा प्रदेश सांसद बुन्धारा हुमागाईंले शुभकामना मन्तव्य राख्दै ल्होछार सबै नेपालीको पर्व भएको बताउँदै सबैले हर्षोललासका साथ मनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन सिएस दोङले गरेका थिए भने अध्यक्षता वडा अध्यक्ष धर्मसिं लामाले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















