काठमाडौं । तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व अर्थात नयाँ वर्ष मनाएका छन्। माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रूपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्छन्।
सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन्।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्म्तिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होसार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ ।
यो पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान र्पुयाउने गरेको छ। बागमती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता छ।

मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन्। पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ। तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले प्रत्येक जनावरले एक–एक पटक शासन गर्छन् भन्ने विश्वाससहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको बताए।
कार्यक्रममा सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेकोमा गुनासो गरेका थिए।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ।
काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो। तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए।

Comments

comments