काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाले प्राकृतिक एवं खानीजन्य बस्तुको विक्रि तथा निकासी शुल्क दस्तुरमा भ्रष्टचार भएको तथ्य बाहिर आएको छ । सेवाग्राहीलाई ३ हजारको रसिद दिएर अर्धकट्टीमा भने १ हजार मात्र लेखेर राजस्व दाखिला गर्ने गरेपछि यो तथ्य बाहिर आएको हो । उक्त शुल्क दस्तुर उठाउने जिम्मा पुनर्निर्माण सहजीकरण डेस्कका प्रमुख कमल कुईंकेलले जिम्मा पाएका थिए ।
यो हिसावले तीन भागमा दुई भाग रकम कुईंकेलको गोजीमा पुगेको छ । आफूहरुलाई ३ हजार शुल्क लिई अर्धकट्टीमा भने १ हजार मात्र जनाएको सेवाग्राहीको गुनासो बारम्बार आइरहेको थियो । यसबाट के प्रमाणित हुन्छ भने ३ हजार लिइ स्वकिय सचिव (कर्मचारी) कुईंकेलले २ हजार भने आफ्नै गोजीमा हालेको बुझिन्छ ।

रसिद अनुसार ग्राहकले प्राप्त गरेको सक्कल रसिदमा प्रति गाडी नगद ३ हजार असुल गरेको देखिन्छ । नगरपालिकाको अर्धकट्टीमा १ हजार लिएको देखिन्छ । प्रतिरसिदमा २ हजार रुपियाँ अनियमितता गरेको प्रमाणित हुन्छ ।
करदाताको सामान्य उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानबाट राजस्व संकलनमा अनियमितता देखिएको हो । आर्थिक वर्षको शुरू साउन १ गतेदेखि माघ १४ गतेसम्म राजस्वका झन्डै ८ हजार रसिद काटिएका छन् । आधाभन्दा धेरै रसिद त्यस्तो अवस्थामा रहेको स्रोतले बतायो।
कर्मचारीहरूले नगरपालिकामा राजस्व दाखिला गर्दा अनियमितता गरेको कुरा बाहिर आएपछि नगरकार्यपालिकाको बैठकले छानबिन समिति गठन गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले तेमाल अनलाईनलाई बताए ।
आफूलाई दोषी करार गरेर केही मिडिया र सामाजिक सञ्जालमा आएको विषय बस्तु झुट भएको नगर प्रमुख शर्माले बताए । ‘म दोषी छैन, मेरो टेबुलबाट त्यस्तो भएको छ भने जस्तोसुकै सजाय भोग्न तयार छु ।’ नगरप्रमुख शर्माले भने, ‘छानविन समितिको प्रतिवेदन आएपछि जसले दोष गरेको छ, ती दोषीले सजाय पाउने नै छ ।’

नमोबुद्ध नगरका प्रवक्ता एवं २ नं. वडा अध्यक्ष संजीव ढकालका अनुसार सार्वजनिक लेखा समितिका संयोजक तथा १० नं. वडा अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । ‘हामीले सार्वजनिक लेखा समितिका संयोजक तथा १० नं. वडा अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरेका छांै ।’ ढकालले भने, ‘ढाँटमा खटिएका कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाएका छौं । ती नाम मुछिएका कर्मचारीहरुलाई ‘सस्पेन्स’ गरेको छ ।’
ढकालका अनुसार पुनर्निर्माण सहजिकरण डेस्कका कर्मचारी कमल कुईंकेलको नेतृत्वमा राजस्व संकलन भइरहेको थियो । कुईंकेलको सहयोगको लागि नगर प्रहरीलाई समेत खटाएको थियो ।
नमोबुद्ध नगरपालिकाको कार्यालयले भकुण्डेबेसीमा प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर कर्मचारीमार्फत चालू आर्थिक वर्षको साउन १ गतेदेखि असुल्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) खण्ड घ (६) तथा प्रदेश नम्बर ३ को आर्थिक ऐन, २०७५ को अनुसूची ५ बमोजिम नगरपालिकाबाट स्वीकृत दर रेटअनुसार राजस्व संकलन गर्दै आएको थियो।
ऐनले तोकेबमोजिम बिक्री तथा निकासी शुल्क ढुंगा, गिट्टी, बालुवा, स्लेट र रोडाका लागि प्रतिक्यु फिट ९ रुपियाँ, माटो प्रतिक्यु फिट २ रुपियाँ ५० पैसा असुल्दै आएको छ।
दररेट अनुसार टिपर प्रतिट्रक ३ हजार, प्रतिनिशान १ हजार ५ सय रुपियाँ लिँदै आएको थियो । स्लेट र बिछ्याउने ढुंगाको प्रतिक्यु फिट ९ रुपियाँ लेखेको भए पनि नगरपालिकाले उक्त सामग्रीमा कर असुल्न छापेको रसिदमा शीर्षक नै छापेको छैन।
आर्थिक वर्ष २०७४–२०७५ मा नगरपालिका आफैंले उक्त कर असुल्दै आएको थियो भने आर्थिक वर्ष २०७५–२०७६ मा ४ करोड ६२ लाखको ठेक्का लागेको थियो। चालु वर्षका लागि ६ करोडको ठेक्का आव्हान गरे पनि अझै लागेको छैन।
‘पाँच पटक बोलपत्र आह्वान गर्दासमेत निर्माण व्यवसायीहरूले कुनै फर्म दर्ता नगरेपछि नगरपालिका आफैंले कर्मचारीमार्फत राजस्व संकलन गर्दै आएको छ ।’ –नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चापागाईंले भने । कर्मचारीमार्फत असुल गर्दा माघ १४ गतेसम्म १ करोड ९४ लाख राजस्व संकलन भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















