रोशी । काभ्रे जिल्लाको रोशी गाँउपालिकाको ४१ औं बैठकले एम्बुलेन्स हस्तान्तरणदेखि सहकारीलाई कार्वाहीसम्मको निर्णय गरेको छ । विहिबार बसेको कार्यपालिकाको बैठकले वडा नं. ११ र ५ लाई एम्बुलेन्स हस्तन्तरण गर्ने र वडा नं. ११ मा रहेको नयाँकिरण विद्युत सहकारी संस्थालाई कार्वाही गर्ने निर्णय गरेको हो ।
वडा नं. ११ का वडा अध्यक्ष मिलन लामाका अनुसार गाउँसभा मार्फत स्वीकृत बजेटबाट रोशी गाउँपालिका लगायतका वासिन्दाहरुका लागि स्वास्थ्य संस्थाहरुसम्मको पहुँच अभिबृद्धिका लागि खरिद गरेको २ ओटा एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल वडा नं. ११ र ५ लाई चालक सहित आवश्यक खर्च व्यहोर्ने गरी सञ्चालक समिति गरिएको जानकारी सहितको कागज प्राप्त भएपछि माघ मसान्त सम्ममा सम्बन्धित वडा अध्यक्षहरुलाई हस्तान्तरण गर्ने वडा अध्यक्ष लामाले तेमाल अनलाईनलाई बताए ।
नयाँ किरण कार्वाहीमा
त्यस्तै कार्यपालिका बैठकले रोशी गाउँपालिका वडा नं ११ मा रहेको नयाँ किरण विद्युत सहकारी संस्थालाई कार्वाही गरेको छ । वडा अध्यक्ष मिलन लामाका अनुसार सहकारीसँग आर्थिक लगायत अन्य गतिविधि नगर्न सरोकारवालाहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । ‘यस सहकारी संस्थाले आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाबाट निकासा लिएको रकमका साथै संस्थाको अन्य आय व्यय विवरण सार्वजनिक गर्न पटक पटक लिखित तथा मौखिक जानकारी गराएकोमा हाल सम्म कुनै जानकारी प्राप्त नभएको र श्री डि.जी एण्ड एशोसियट्स काठमाण्डौ सँग कुनै सम्बोधन नगरेको कारण सो सस्ंथा हाललाई कारवाहीको पक्रियामा लाने वैठकले निर्णय गरेको छ ।’ लामाले भने, ‘सम्बन्धित शेयर सदस्य, नेपाल विद्युत प्राधिकरण, ग्रामिण सामुदायिक विद्युतिकरण विभाग, बालाजु लगायतका सरोकारवाला सबैलाई सो संस्थासँग कुनैपनि आर्थिक लगायत गतिविधि नगर्न र नगराउन जानकारी गराउने निर्णय पनि गरेका छौं ।’ सहकारीको बैंक खाता समेत रोक्का गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
बैठकको निर्णय
छानविन समिति गठन
सहकारी संस्थालाई आवश्यक कार्वाही अगाडि बढाउने प्रक्रियाको लागि भन्दै ६ सदस्यीय छानविन समिति समेत गठन गरेको छ । बैठकले ७ दिन भित्र छानविन प्रतिवेदन गाउँपालिकामा पेश गर्न निर्देशन दिएको छ ।
छानविन समिति उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेतीको संयोजकत्वमा धनजीत लामा, मिलन लामा, दुधराज तामाङ, पोष्टराज गौतम र जयप्रसाद गजुरेल रहने गरि गठन गरिएको छ ।
‘कुनै अनियमितता छैन –सहकारी प्रबन्धक
सहकारीका प्रवन्धक ध्रुबकुमार रायमाझीले गाउँपालिकाको यस्तो निर्णयलाई आफूले रचनात्मक रुपमा लिएको बताएका छन् । राजनीतिक पूर्वाग्राहीको गन्ध भएपनि गाउँपालिकाको यो कदमलाई आफूहरुले सहयोग गर्ने उनले बताए । सहकारी भित्र कुनै पनि प्रकारको अनियमितता नभएको पनि रायमाझीले स्पष्ट पारे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।