पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाको छैठौं नगरसभा सम्पन्न आज (शुक्रबार) सम्पन्न भएको छ । नगरसभामा अर्धवार्षिक समिक्षा र विभिन्न ऐनहरु पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख समेत रहेका सभाध्यक्ष महेश खरेलले नगरमा सञ्चालन भइरहेको र हुने प्रक्रियामा रहेका योजनाहरुको बारेमा नगरसभा सदस्यहरुलाई जानकारी दिएका थिए । उनले जनतालाई कर बढाउने भन्दा पनि सबैलाई करको दायरामा ल्याउने नगरको योजना रहेको बताए ।
योजना ३ सय १, संझौता १ सय २५

सभामा नगर उपप्रमुख लक्ष्मी लक्ष्मी दनुवारले नगरको अर्धवार्षिक प्रगति विवरण पेश गरेकी थिइन् । उपप्रमुख दनुवारका अनुसार पाँचखाल नगरपालिकामा जम्मा ३ सय १ वटा योजना रहेको छ । ती योजनाहरु मध्यमा हालसम्म १ सय २५ वटा अर्थात ४१.५३ प्रतिशत योजना संझौता भएको छ । भुक्तानी संख्या भने ४१ वटा अर्थात १३.६२ प्रतिशत रहेको छ ।
न्यायिक समितिमा २४ उजुरी
नगरपालिकामा यस आर्थिक वर्षमा कुल उजुरी २४ वटा रहेको उपप्रमुख दनुवारले जानकारी दिइन् । २०७६ श्रावणदेखि दर्ता उजुरी १५ वटा, मिलापत्र मेलमिलाप गरिएका उजुरी ४, चलिरहेको उजुरी १०, वडामा मेलमिलाप भइ आएका उजुरी १७, वडाबार मेलमिलापको लागि पठाइएको उजुरी ४ वटा रहेका छन् ।
नगरसभामा उपप्रमुख दनुवारले कृषि, शिक्षा, पशु, स्वास्थ्य, भौतिक पूर्वाधार सम्बन्धी प्रगति विवरण पेश गरेकी थिइन ।
नगरसभाले पाँचखाल नगरपालिकाको शिक्षा ऐन संशोधन, पलाञ्चोक क्षेत्र विकास कोष सम्बन्धी ऐन संशोधन र वन ऐन प्रस्तुत भई पारित समेत भएको थियो ।

नगरसभामा विशेष समय लिएर पाँचखाल नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष हरि खतिवडा, वडा नं. ७ का वडा अध्यक्ष पुस्कर काफ्ले, वडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सञ्जय लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















