काठमाडौं । रामेछाप र काभ्रेको सीमानामा बन्ने जलासययुक्त सुनकोसी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । सरकारको प्राथमितामा रहेको ६४० मेगावाटको आयोजना अगाडि बढाउने तयारी सरकारले गरेको छ । सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको विद्युत विकास विकागको महानिर्देशक नविनराज सिंहले बताएका छन् ।
विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ । परामर्शदाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टीच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. (इआरएमसी) मार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ । इआएरएमसीका सञ्चालक उद्धबराज चौलागाईले आगामी मंसिरसम्म अध्ययनको काम सम्पन्न गरेर विद्युत विकास विभागलाई रिपोर्ट बुझाउने गरी काम भइरहेको बताए ।
‘तोकिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने गरी तीब्र गतिको साथ काम गरिरहेका छौ, तोकिएकै समयभित्र रिपोर्ट बुझाउछौ ।’ चौंलागाईंले भने, ‘आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन (ईआईए) समेत सुरु भइसकेको छ ।’
सुनकोसी–३ को बाँधस्थल काभ्रेको तेमाल गाउँपालिका लुभुघाट र रामेछापको सुनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ । १ सय ६६ मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ ।
जलाशय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ । आयोजनको विद्युत गृह काभ्रेको तेमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ । आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्ने बताइएको छ । सुनकोसी–३ जलविद्युत आयोजना निर्माण हुने भएपछि रामेछाप र काभ्रेवासी उत्साहित भएका छन् । आयोजना निर्माण सुरु भएपछि हजारौको संख्यामा रोजगारी समेत सृजना हुनेछ । रामेछाप न्यूजबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।