काभ्रे । काभ्रे जिल्लाको अतिबिकट मानिने खानीखोला गाँउपालिका–७ मिल्चेमा मगर भूषाल तथा भाषा तालिम सम्पन्न भएको छ । मगरहरुको सँस्कृति र पहिचान संरक्षण तथा सम्बद्र्धन गर्न ११ दिने भुषाल तथा भाषा तालिम सम्पन्न भएको हो ।
खानीखोला गाउँपालिको आर्थिक सहयोग तथा नेपाल मगर संघ खानीखोला गाउँईकाई समितिको आयोजनामा ११ दिने भूषाल तथा भाषा तालिम सम्पन्न भएको नेपाल मगर संघ खानीखोला गाउँईकाई समितिका कोषाध्यक्ष बलराम थापा मगरले जानकारी दिएका छन् । तालिममा १२ जना युवा युवतीहरूलाई मगर संस्कार सँस्कृति तथा भूषाल तालिम र मगर भाषा तालिम दिएको थापा मगरको भनाई छ । तालिममा सहभागीहरूले मगर संस्कार अनुसार कर्मकाण्ड गर्न सक्ने भएको थापा मगरले जानकारी दिएका छन् । गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पनि थापाले जानकारी दिए ।

मगर भूषाल सम्बन्धी तालिम नेपाल मगर संघ काभ्रेका अध्यक्ष तथा मगर वापा अम्बर बहादुर आले मगरले दिएका थिए । साथमा मगर भूषाल हिरा बहादुर दर्लामी मगरले पनि भूषाल सम्बन्धी कर्मकाण्डको बारेमा सहयोगी प्रशिक्षकका रुपमा तालिम दिएको थियो । त्यसैगरी मगर भाषा र लिपी सम्बन्धी सुदिप यस्माली मगरले तालिम दिएको थियो । तालीम २०७६ माघ ६ गते देखि शुरु भई २०७६ माघ १६ गते सम्पन्न भएको थियो ।
तालिम समापन कार्यक्रममा खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले गरेका थिए । गाउँपालिकाका अध्यक्ष खुलालले तालिम समापन गर्दै आफ्नो जातीय पहिचान भनेको भाषा र संस्कार संस्कृति भएकाले त्यसलाई जोगाई राख्नु पर्ने बताएका छन् ।
जातीय पहिचान जोगाउँनका लागि सवै समुदाय लाग्नु पर्ने र त्यसमा गाउँपालिकाले सहयो गर्ने पनि खुलालले बताएका छन् । विभिन्न जातजातिको संस्कार संस्कृति नै गाउँपालिकाको पहिचान भएको पनि अध्यक्ष खुलालले बताए । गाउँपालिकाले यो पहिलो सुरुवात भएकाले आफ्नो जातीय पहिचानको लागि लागि पर्ने मगर अगुवाहरू आफ्नो जातिय पहिचान झल्कने संस्कार संस्कृति संरक्षण सम्बद्र्धनमा अडिक भएर लाग्नुका लागि सुझाव पनि खुलालले दिएका छन् ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रुकमणी गुरुङ राना मगरले विभिन्न जातजातिको संस्कार संस्कृतिले गाउँपालिकालाई नेपाल मात्र नभएर विश्वसामु चिनाउन मद्धत गर्ने बताउँदै यसको जगेर्नाका लागि आ–आफ्नो समुदाय लाग्नु पर्ने र त्यसमा गाउँपालिकाले सहयोग गर्ने बताए ।
सोही कार्याक्रममा वडाध्यक्षहरू जयबहादुर लङ्गेली मगर, क्षेत्र ग्यावा, दुर्गा प्रसाद तिमल्सिना लगायतले मगर समुदाय मात्र नभएर सवै जाति समुदाय समान भएकाले सवै जाति समुदायले आ–आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति जोगाई खानीखोलाको पहिचानमा सहयोग गर्न अनुरोध गरेका थिए ।
उक्त तालिममा खानीखोला गाउँपालिका भित्रको भाङ्टार, भ्याकुरे, महांकाल, कुष्पा लगायतका स्थानहरूबाट सहभागी भएको थियो । तालिममा सहभागीहरूलाई बुद्धको मूर्तिसहित प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष खुलालको हातबाट वितरण गरेको थियो । तालिममा सहभागीहरूले अवका दिनमा आफ्नो क्षेत्रमा रहेर मगर संस्कार संस्कृति अनुसार कर्मकाण्डा गर्ने बताएका छन् । सहभागीहरूले गाउँपालिकाको आर्थिक सहयोगमा संघले आयोजना गरी आफुहरूलाई तालिम प्रदान गरेकोमा खुसी व्इक्त गर्दै धन्यवाद दिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।