काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन विभागमा १० जना सदस्य थपिएको छ । आज (सोमबार) बसेको विभागको बैठकले सदस्यहरु थपिएको छ । विभाग पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा रहेको छ ।
तेस्रो पटक संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।
महाधिवेशनको मिति तय भैसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
‘महाधिवेशनको मिति तोकिसकेको अवस्थामा जटिल काम बनेको सदस्यता व्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ । त्यसलाई व्यवस्थित गर्ने दिशामा अघि बढ्ने निर्णय भएको छ ।’ शाक्यको भनाइ छ ।
यस अघि गत साउन ३ गते बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए ।
पछिल्लो पटक संगठन विभागमा १० जना सदस्यहरु थपिएपनि पूर्णता भने अझै भएको छैन । नेकपाको पार्टी नियमावलीअनुसार विभागहरू पूर्ण हुन ३५ सदस्य रहनुपर्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















