प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई सहज बनाउन चाँडै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएको आजको नागरिक दैनिकमा समाचार छ।
‘बेस्सरी काम गर्न सजिलो होस् भनेर फेरि मिर्गौला राख्न लागेको छु,’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘छिट्टै प्रत्यारोपण गर्छु।’ सरकारका कामकारबाहीसम्बन्धी सम्पादकहरूका टिप्पणी र जिज्ञासाको जवाफ दिने क्रममा सत्तारुढ नेकपाको अध्यक्षमेत रहेका ओलीले अबको तीन वर्ष आफूले सरकार सञ्चालन गर्ने दृढता व्यक्त गरे।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण हुँदा अर्का पार्टी अध्यक्ष दाहालसँग सरकारमा ‘आलोपालो’ गर्ने सहमति भए पनि अहिले उनैले पूरा समय सरकार चलाउन मार्ग प्रशस्त गरिदिएको समेत ओलीले उल्लेख गरे। ‘त्यो बेला प्रचण्डजीसँग आलोपालो गरौंला भनेको थिएँ,’ ओलीले भने, ‘उहाँले नै त्यो हटाइदिन्छु सरकारलाई निरन्तरता दिनुहोस् भन्नुभयो।’
अध्यक्ष दाहालले सरकारलाई अस्थिर भएको नदेखाउन आलोपालोको प्रसंग हटाइदिएको ओलीले जानकारी दिए। आफ्नो दलमा ५०औं वर्ष राजनीति गरेर खली खाएका, आफूभन्दा अगाडि दलको अध्यक्ष र प्रधानमन्त्री रहिसकेका नेता भएकाले आफूले यसो गर्नू भन्न नसक्ने उल्लेख गर्दै ओलीले थपे, ‘सबैको मानभाउ पु-याएर काम गर्नुपर्ने हुन्छ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















