काठमाडौं । सरकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतबाट निर्दोष सावित भएर आउन जवाफ दिएको छ।
सरकारले राजनीतिक पूर्वाग्रह साँधेर मुद्दा चलाएको आरोप कांग्रेसले लगाएपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अख्तियारले चलाएको मुद्दामा प्रतिवादीहरुले अदालतबाट निर्दोष सावित हुनुपर्ने बताएका हुन्।
‘बालुवाटार प्रकरण आज भएको होइन। सरकारले थाहा पाएपछि कारवाही थालेको हो। १७५ जनाविरुद्ध मुद्दा चलेको छ’, उनले भने, ‘सरकारी सेवा सुविधा लिएर निवासका जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनेविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तरर्गत मुद्दा चलाइएको छ। काला फिताधारी र सेता फिताधारीको व्यवहार भएको छैन। फर्जी किर्ते गरेर जसले गलत गरेका छन्। उनीहरुमाथि निःसन्देह कारवाही हुन्छ।’
मन्त्री बाँस्कोटाले गच्छदारमाथि पूर्वाग्राही भएर कारवाही गरेको भन्नै कांग्रेसको आरोप खारेज गरिदिए।
‘विजय गच्छदारमाथिको कारवाही पूर्वाग्रही हुँदै होइन। यो लामो छानबिनपछि अख्तियारले चलाएको मुद्दा हो’, उनले भने, ‘संवैधानिक निकायले गरेको काममा आरोप, पूर्वाग्रह व्यहोर्नु नपर्ला तर प्रमाण त व्यहोर्नुपर्यो नि, तथ्य व्यहोर्नुपर्‍यो नि, सरकारले फेरि समातेर अदालतमा लगेर दोषी ठहर त गर्दैन नि। अदालतले दोषी ठहर गर्यो भने के लाग्छ ररु त्यसैले अदालतबाट निर्दोष सावित भएर आउने मात्रै अबको विकल्प हो।’
मन्त्री बाँस्कोटाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनका नाममा नक्कली जग्गा पुगेको जिकिर गरे। ‘विष्णु पौडेलको नाम भन्दा पनि छोरा नवीनले तेस्रो–चौथो तहमा किनेको जग्गा हो। उनीहरुले त्यो जग्गा थाहा पाएर या नपाएर किने पनि विष्णु पौडेललाई नक्कली जग्गा परेकै हो’, उनले भने, ‘यस प्रकरणमा संलग्न हुने, निर्णय गर्ने, डिजाइन गर्ने एउटा पक्षा हो। त्यस कारोबारमा जानेर नजानेर किनेको फरक कुरा हो। नियत के होरु हेनुपर्‍यो।’
बाँस्कोटाले अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम हुने बताए। ‘सरकारले छानबिन गरेपछि काम सकिएको हो। अख्तियारले मुद्दा दायर गरेको हो, त्यो त भ्रष्टाचार निवारणसँग सम्बन्धित संस्था हो’, उनले भने, ‘त्यहीँबाट कुरो टुंगिन्छ। यहाँ पूर्वाग्रहको कुरा छैन। सरकारलाई मुछ्नुको कुनै अर्थ छैन। जे प्रमाणित हुन्छ, त्यो त व्यहोर्नुपर्छ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।