काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारको बचाउमा भ्रातृ संगठन सडकमा उत्राने भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गच्छदारमाथि विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेपछि काँग्रेस सशंकित बनेको छ ।
आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारीसहित शीर्ष नेतासँगको छलफमा गच्छदारको बचाउका लागि पार्टी राजनीतिक र कानुनी लडाइँ लड्ने र भातृसंगठनलाइ सडकमा उतार्ने निर्णय गरेको थियो ।
त्यसपछि गच्छदारमाथिको मुद्दाका विषयमा राजनीतिक संघर्षका लागि पार्टी कार्यालय सानेपामा काँग्रेसका पदाधिकारी र भ्रातृ संगठनका पदाधिकारी छलफल भएको हो । उक्त छलफलबाट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललाई सडकमा उत्रार्ने निर्णय भएको छ ।
गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको काँग्रेसको निष्कर्ष छ । अख्तियारको निर्णय विरुद्ध नेविसंघ र तरुण दलले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।
गच्छदारमाथिको निर्णय सच्याउन माग गर्दै भोलि ९शुक्रबार० दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन हुनेछ । यस्तै नेपाल तरुण दलको नेतृत्वमा आगामी आइतबार दिउँसो १ बजे माइतीघरमै प्रदर्शन निर्णय गरिएको छलफलमा सहभागी तरुण दलका अध्यक्ष जीतजंग बस्नेत जानकारी दिए ।
उनका अनुसार अख्तियारले बदनियतपूर्ण ढंगले गच्छदारविरुद्ध मुद्दा दायर गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय हो । प्रवक्ता विश्वप्रकाश शर्माले आज अपराह्न पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर गच्छदारको बजाउ गरेको छन् ।
यता काँग्रेसले गच्छदारको बचाउमा संघीय संसदको प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेको छ । संसदीय रणनीति थप गर्ने शुक्रबार संसदीय दलको बैठक बोलाइएको छ ।
काँग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ। गच्छदारको बचाउमा काँग्रेसजन सामाजिक सञ्जाल, सदन र सडकमा तताउँदै छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।