काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा संलग्न रहेको भन्दै बिहीबार १० जनाविरुद्ध किटानी जाहेरी परेको छ। मृतक कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले गृहमन्त्री रामबहादुर थापा (वादल), आइजिपी सर्वेन्द्र खनालसहित १० जनामाथि अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएकी हुन्।
गत असार ५ गते प्रहरीको गोली लागेर कुमार पौडेलको मृत्यु भएको थियो। प्रहरीले भने पौडेलको मृत्यु ‘दोहोरो गोली हानाहान’मा भएको बताएको थियो। सांसदहरूले त्यसमा शंका व्यक्त गर्दै आएका थिए। उनको दलसहित कतिपयले पौडेललाई नियन्त्रणमा लिएर मारिएको दाबी गरेका छन्।
यता, राष्ट्रिय मानव अधिकार आयोगले पनि पौडेलको हत्या भएको निष्कर्षसहित आदेश दिने र आदेश पालना गर्नेमाथि कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो। आयोगले घटनामा प्रत्यक्ष संलग्न, एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















