हेटौंडा । मकवानपुरको ढुंगा गिट्टी बालुवा जिल्ला अनुगमन समितिले अवैध क्रसर र बालुवा उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
मकवानपुरका विभिन्न नदी, खोला अनुगमन गरेपछि व्यापक तरिकाले नियम विपरित नदीजन्य पदार्थ उत्खनन् गरेको भेटिएको भन्दै अवैध क्रसर उद्योग र बालुवा प्लान्टहरु सञ्चालन नगर्न, नगराउन समितिले निर्देशन दिएको हो ।
निर्देशन नमान्ने क्रसर र बालुवा उद्योगलाई कडा कारबाही गर्ने समितिले जनाएको छ । ‘नियम विपरित उत्खनन् वा सञ्चालन गरेको पाइएमा नियम बमोजिम कडा कारबाही हुने जानकारी गराइन्छ ।–’ समितिले भनेको छ ।
‘समितिले मकवानपुरका विभिन्न नदी तथा खेलाहरुको अनुगमन गर्दा नियम विपरित र अवैधानिक तरिकाले ढुंगा, गिट्टी, बालुवाहरु उत्खनन् गरिएको तथा बालुवा प्लान्टहरु सञ्चालन भएको पाइएकोले नियम विपरित बनेका ढुंगा, गिट्टी बालुवा उद्योग तथा क्रसरहरु सञ्चालन नगर्न, नगराउन सूचना जारी गरिएको छ ।–’ समितिको सूचनामा उल्लेख छ ।
समितिले क्रसर तथा बालुवा उद्योगहरुलाई आफ्नो क्षेत्राधिकारभित्र तारबार तथा कम्पाउण्ड लगाउन एवम् उद्योगमा होर्डिङ बोर्ड लगायत सम्पूर्ण व्यवस्थापन गर्न गराउन सूचित गराएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।