नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । नमोबुद्ध नगरपालिकाले खानीजन्य सामाग्रीको राजश्व संकलन गर्दै आएकोमा चरम भ्रस्टाचार देखिएपछि आज (शुक्रवार) आयोगको टोलीले नगरपालिकामा छापा मारेको हो ।
अख्तियारको टोलीले आवश्यक कागजात संकलन गरी अनुसन्धान सुरु गरिएको बताएको छ । टोलिले नमोबुद्ध नगरका भ्रस्टाचारसँग सम्बन्धित कागजात जफत गरेको छ ।
अख्तियारको छापासँगै नगरद्वारा गठित छानवीन समितिका ३ जनाले राजिनामा समेत दिएका छन । छानबिन समितिमा रहेका वडा अध्यक्षहरु सन्जिव ढकाल, धर्म लामा र सदस्य सचिब राजिव श्रेष्ठले राजिनामा दिएका हुन । भ्रष्टाचार प्रकरणमा आफुहरुको समेत नाम मुछिएकोले छानबिन र अनुसन्धानको लागि सहज होस भनी राजीनामा दिएको उनीहरूले जारी गरेको प्रेस बिज्ञाप्तिमा जनाएको छ ।
“निरन्तर रुपमा विभिन्न संचार माध्यममा हाम्रो समेत नाम जोडिएर आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । छानविन गर्नुपर्ने सदस्यहरु माथि नै प्रश्न उठेपछि सो समितिमा रहेर छानविन गर्न नैतिक रुपमा समस्या पैदा भएकाले छानविन प्रकृयालाई सहज निष्पक्ष र पारदर्शिता बनाउन एवं सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनि सामुहिक राजीनामा दिईको छ ।” जारी बिज्ञाप्तिमा उल्लेख छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।