तेमाल । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमानामा निर्मित तेमाल प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गरिएको छ । तेमाल गाउँपालिका वडा नम्बर ५ कालिमाटीमा निर्माण गरिएको प्रवेशद्धारको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

गाउँपालिकाले १५ लाख रुपैया बजेटमा निर्माण भएको उक्त प्रवेशद्वारको उद्घाटन श्याल्पा तेन्जेङ रेम्पोर्छे र पवनश्री ९ औं अवतारी लामागुरुले गरेका थिए । उद्घाटन कार्यक्रममा रेम्पोर्छे र अवतारी लामागुरुले बौद्ध धर्म अनुसार पूजापाठ गरेका थिगए ।

तेमालमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न पुग्ने र प्रवेशद्वार मार्फत नै तेमाललाई पर्यटकीय हिसाबले चिनाउन मद्दत पुगोस भन्ने उद्देश्यले प्रवेशद्वार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताए । ‘यहाँ आएका अन्तरिक या बाह्य पर्यटकहरुलाई तेमालकोबारेमा यो प्रवेशद्वारले नै स्पष्ट पार्न यो प्रवेशद्वारको निर्माण गरिएको हो ।’ अध्यक्ष तामाङले भने, ‘यहाँ प्रवेश गर्ने वित्तिकै सबै प्राणी जगतलाई शान्ति मिलोस भनेर पनि यो प्रवेशद्वारको निर्माण गरिएको हो । यो हाम्रो चिरानी पनि हो, हामीले तेमालको साँस्कृतिलाई सहि ढंगले सबैलाई बुझाउन पनि सक्नुपर्छ ।’

प्रवेशद्धारमा बौद्ध धर्मवलम्बीहरुको पहिचान झल्कने अष्टमंगल, खोर्लो, बुद्धबाणीहरु लेखिएका छन् ।

पालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले तेमाललाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय कलासंस्कृति प्रदर्शन गर्ने र घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने बताइन् । ‘साँस्कृतिक रुपमा हामी धेरै धनी छौँ, हामीले यसलाई आयआर्जनको स्रोत बनाउनै सकेनौं ।’, उनले भनिन ‘हामीभित्रको सम्भावनालाई जबसम्म पहिचान गरेर बाहिर ल्याउन सक्दैनौँ तबसम्म सोचे जस्तो समृद्धि, उन्नति र सफलता हात पार्न सक्दैनौ, त्यसले पालिकाले सबैलाई मान्य हुने र साँस्कृतिको उजागर हुने ठोस योजना बनाउँछ ।’
कार्यक्रममा प्रमुख प्रशासकीयक अधिकृत लक्ष्मण कुईंकेल, ६ नं. वडा अध्यक्ष विकु मोक्तान लगायतका उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।