कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि आफूले गरेको कसरतबारे गच्छदारले सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ब्रिफिङ गरेका हुन् । यो समाचार नयाँपत्रिका दैनिकमा छापिएको छ ।
दिउँसो २ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सुरु भएको थियो । बैठकको सुरुवातमै ‘उपसभापति गच्छदारजीलाई आफ्नो कुरा राख्न एक घन्टाको समय दिन्छु’ भन्दै सभापति शेरबहादुर देउवाले समय दिए । एक घन्टा समय दिइए पनि गच्छदारले मात्रै झन्डै दुई घन्टा बोलेपछि कांग्रेस बैठक सकियो । दुई घन्टाको समयावधिमा गच्छदारले आफूलाई मुद्दा लाग्ने गरी अनुसन्धान अघि बढेदेखि नै उच्च राजनीतिक नेतृत्वसँग संवाद गरेको खुलाए । उनले कम्युनिस्ट सरकारले अन्ततः मुद्दा लगाएरै छोडेको बताए । बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान अघि बढ्ने र बयानसमेत सकिएदेखि नै उच्च नेतृत्वसँग भेटेरै मुद्दा नलगाइदिन आफूले बारम्बार आग्रह गरेको गच्छदारले बैठकमा सुनाए ।
अख्तियारले मुद्दा दर्ता गरेको २२ माघको दिनसमेत अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभापति शेरबहादुर देउवालाई भेटेरै मुद्दा नलगाइदिन आग्रह गरेको उनले बताए । ‘बालुवाटारको जग्गाको विषयमा मलाई सोधपुछदेखि नै यसमा संलग्न छैन भनेर धेरै प्रयास गरेँ । राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, सुवास नेम्वाङसहितका उच्च राजनीतिक नेतृत्वसँग भेट गरेँ,’ केन्द्रीय कार्यसमिति बैठकमा गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, बालुवाटार परिसर र बाटोलाई व्यवस्थित गर्नका लागि प्रधानमन्त्रीले भनेअनुसारकै मास्टर प्लान ल्याएको हो । मेरो योजना होइन । मोही खडा गर्ने, लालपुर्जा बनाउने काम मैले गरेको होइन । राजनीतिक प्रतिशोधले मलाई झुटा मुद्दा लगायो । यो कांग्रेसमाथिकै आक्रमण हो । अन्ततः मलाई फसाए, मेरो दोष छैन ।’
अख्तियारले मुद्दा लगाउने थाहा दिन पनि आफूले बिहानैदेखि राजनीतिक दौडधुप गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो । ‘मैले प्रधानमन्त्रीसँग भेटेँ, लोकतन्त्रका लागि तपाईं १४ वर्ष जेल बस्नुभयो, म पाँच वर्ष जेल बसेँ । बालुवाटारको जग्गाको विषयमा भूमि सुधारमन्त्रीको कार्यक्षेत्र पर्नेमा मलाई आरोपित गरियो र फसाउन खोजिँदै छ भनेर प्रधानमन्त्रीसँग ४५ मिनेट संवाद गरेँ,’ गच्छदारको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘तर, उहाँले सुनिरहनुभयोे, केही भन्नुभएन । राजनीतिक प्रतिशोधमा योजनाबद्ध भएरै उहाँ केही नबोल्नुभएको हुन सक्छ ।’
ओलीले मुद्दाबारे केही नबोलेपछि बालुवाटारबाटै गच्छदार सीधै सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । अन्तिम प्रयासस्वरूप सभापतिमार्फत प्रधानमन्त्री ओलीलाई मनाइदिन उनले आग्रह गरे । सोही आग्रहअनुसार, देउवाले ओलीलाई फोन पनि गरेका थिए । फोनमा देउवाले ‘अहिले रोक्नुस्, नगर्नुस् । यसरी प्रतिशोधमा मुद्दा चलाउनु राम्रो हुँदैन,’ भनेर आग्रह गरे पनि प्रधानमन्त्री ओलीले सुने मात्रै, केही नबताएको ब्रिफिङ गच्छदारले नै बैठकमा गरेका थिए ।
गिरिजाप्रसाद कोइराला हुँदै पार्टी छोडेर गएको, कम्युनिस्ट मिलेपछि लोकतन्त्रमाथि आक्रमण हुने भएकाले पार्टीमै फर्केर आए पनि कांग्रेस एक नहुँदा आक्रमण हुन लागेको उनको भनाइ थियो । ‘पहिले मैले जस्तो कांग्रेस छोडेको थिएँ, अहिले त्यस्तो कांग्रेस छैन,’ गच्छदारले बैठकमा भने, ‘कम्युनिस्टको ज्यादती धेरै बढिसक्यो । कांग्रेसका हरेक नेतालाई झुठा मुद्दा लगाउँदै फसाउँदै छन् । हामी एकताबद्ध नहुने हो भने कम्युनिस्टविरुद्ध लड्न सक्दैनौँ । आपसमा भिड्दा कमजोर हुन्छौँ ।’

Comments

comments