धुलिखेल । काभ्रे जिल्लामा रहेको धुलिखेल सामुदायिक अस्पतालले ‘मेडिको लिगल’ सेवा सञ्चालनमा ल्याएको छ । गत माघ १ गनेदेखि विशेषज्ञ सेवासहित पहिलो पटक अस्पतालले ‘मेडिको लिगल’ सेवा सञ्चालनमा ल्याएको हो ।
मंगलबार अस्पतालले अनुमति प्राप्त गरेको जानकारी सरोकारवालालाई दिएको थियो । सरोकारवालाहरुसँग कुरा गर्दै काठमाडांै विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले दिने सेवा नमुना हुनुपर्नेमा जोड दिए । ‘धुलिखेल अस्पताल नमुना अस्पतालका रूपमा अगाडि बढिरहेको छ । यसले दिने सेवा नमुना हुनुपर्छ ।’ श्रेष्ठले भने, ‘गर्दागर्दा सिक्न र बुझ्न सकिन्छ । मान्छेलाई सत्य कुरा बताउन सक्दा मात्रै सन्तुष्ट बनाउन सकिन्छ ।’
कार्यक्रममा जिल्ला न्यायाधीश पुरुषोतम ढकालले अनुसन्धानमा सहजता र न्याय सम्पादनमा सहयोग पुग्ने गरी अस्पतालले शुरू गरेको मेडिको लिगल सेवालाई गुणस्तरीय बनाउन सुझाव दिए ।
फरेन्सिक मेडिसिन एसोसियट प्रोफेसर डा. राजकुमार कार्कीले ध्ुलिखेल अस्पतालले मेडिको लिगल शव परीक्षण र क्लिनिकल मेडिको लिगल परीक्षण सेवा शुरू गरेको जानकारी दिए । ३ जना विशेषज्ञसहितको टोलीले धुलिखेल अस्पतालमा २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।