तेमाल । काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ डहुन्हानमा सोनाम लहोछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चकन्या आविको प्रांगणमा भोलि (बुधबार) साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । २८५६ नम्युङ ल्होछारलाई मध्यनजर राखी गर्न लागेको उत्सवको प्रचारप्रसार, अतिथि निमन्त्रणा तथा व्यवस्थापकिय तयारी पुरा भएको तामाङ संस्कृति प्रवद्र्धन कार्यक्रम व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रममा लामागुरु खेन्पो सोनाम ग्युर्मे तामाङद्वारा ल्होछार प्रवचनका साथै छेःवाङ दिईनेछ भने चर्चित कलाकारहरुको वेजोड प्रस्तुती रहनेछ ।
कार्यक्रममा चर्चित गायक तथा संगीतकार विश्व दोङ, चर्चित युवा गायक उत्तर लामा संगुल, चर्चित सेलो गायक फूलकुमार बम्जन, सांगीतक उचाईकी गायिका निर्मला घिसिङका साथै तामाङ समुदायका महानायक उपमाले चिनिएका अमिर दोङ, नायिका सुस्मा मोक्तान, मोडल मोनिका लामा, स्थानिय क्षेत्रबाट उदाउंदो प्रतिभाहरु कर्म लामा, विक्की दोङ, जेवि लामा तथा ताम्बा, गान्बा र स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुती हुनेछन् ।
संस्थागत रुपमा तेमाल गाउँपालिका वडा नम्बर ०१ को कार्यालय सस्र्यूंखर्क, तेमाल फाउण्डेशन लगायतले स्थानियसँग मिलेर यो उत्सव आयोजना गरेको जनाइएको छ ।
वडाध्यक्ष मान वहादुर श्रेष्ठका अनुसार मौलिक खाना, पर्व, भेषभुषा संरक्षणमा स्थानिय संस्कृति प्रवद्र्धन केन्द्रित कार्यक्रममा लामा गुरु, कलाकारहरुका साथै गाउँपालिकाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहनेगरी भव्य कार्यक्रम हुन लागेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।