काठमाडौं । आज फागुन १ गते, अर्थात तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको थालनी गरेको दिन । ‘प्रतिकृयावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धका बाटोमा अघि बढौं ।’ भन्ने मूल नाराका साथ थालनी गरेको जनयुद्धले २५ वर्ष पूरा गरेको छ ।
विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुले आज जनयुद्ध दिवस मनाउँदै छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध तथा जनआन्दोलन दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ भने विप्लब समूह, बैद्य समूहले जनयुद्ध दिवस मात्र भनेर मनाउँदै छ ।
फागुन १ गते, बि.सं २०५२ रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरि तत्कालिन माओबादीले सशस्त्र युद्धको घोषणा गरेको दिन । एक अर्काको कटु आलोचक दुई कम्युनिष्ट पार्टी तत्कालिन एकिकृत नेकपा माओवादी र नेकपा एमालेबीच पार्टी एकतापछि बनेको नेकपाले बृहत औपचारिक कार्यक्रम गरि देशभर जनयुद्ध दिवस मनाउँदै छ ।
पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम रहेको छ ।
नेकपाले केन्द्र प्रदेश तथा जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदको सम्मानमाश्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । जनयुद्धलाई नरसंहार ठान्ने एमालेले पार्टी एकतापछि दिवसलाई स्वीकार गरेको छ । तर अझै तत्कालिन एमाले जनयुद्ध दिवसकै रुपमा यो दिनलाई संझन भने सहमत भएन । त्यही कारणले एमाले र माओवादी मिलेर बनेको नेकपाले जनयुद्ध दिवसलाई शहीदको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम गरि देशभर शहिदको फोटोमा माला लगाउँदै छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।