काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई जागिर खाने थलो नबनाउन शिक्षकहरुलाई अनुरोध गरेका छन् । काभ्रेको चौंरीदेउराली गाउँपालिकालाई विहिबार साक्षर गाउँपालिका घोषणा गर्दै मन्त्री पोखरेलले उक्त अनुरोध गरेका हुन् ।
ग्रेड दिने विद्यार्थीलाई भएकोले शिक्षकले ग्रेड खोज्न नहुने पोखरेलले बताए । ‘विद्यालय शिक्षा किन कमजोर भयो ? यसको एउटै मात्र कारण विद्यालयलाई जागिर खाने थलो बनायो ।’ उनले भने, ‘विद्यालय सफल या असफल हेडमास्टरको वरिपरि शिक्षक छन् कि छैनन् भन्ने कुराले निर्धारण गर्दछ । अब शिक्षकले ग्रेडको अपेक्षा गर्ने होइन, शिक्षकलाई ग्रेड दिन मिल्दैन विद्यार्थीलाई मात्र दिन मिल्छ ।’
मातृभाषामा शिक्षा दिनुपर्छ
विद्यार्थीले छिटो बुझ्ना मातृभाषामा पढाउनुपर्नेमा जोड दिदै मन्त्री पोखरेलले शिप सिकाईसँग विद्यार्थीलाई जोड्नुपर्नेमा पनि जोड दिए । ‘घरमा आमा–बुबासँग जुन भाषा बोल्छ त्यही भाषामा पढाउनु पर्छ । अध्ययन अनुसन्धानले के देखाएको छ भने मातृभाषामा शिक्षा प्रदान गर्दा विद्यार्थीले चाँडै बुझ्न सक्छन् ।’ उनले भने, ‘गाउँपालिकाले बिद्यालय कार्य सम्पादन सम्झौता गर्नुपर्छ । १२ सकिदा विद्यार्थीले एउटा सीप सिकेकै हुनुपर्छ । सीप सिकाइसँग विद्यार्थीलाई अब जोड्नु पर्छ ।’ भाषा पढाउने नाममा अंग्रेजी भाषा पढाएर नेपाली कमजोर बनाउन नमिल्ने पोखरेलले बताए ।
जीवन पर्यान्त शिक्षामा मानिस
मानिसको स्मरण १८ प्रतिशत मात्र हुने भएकोले जीवन पर्यान्त शिक्षासँग मान्छेको जीवन जोडेको मन्त्री पोखरेलले बताए । ‘मानिसको १८ प्रतिशत भन्दा बढी स्मरण हुँदैन । जीवन पर्यान्त शिक्षासँग मान्छेको जीवन जोडेको छ ।’ उनले भने, ‘जीवनसँग शिक्षा जोड्न आबश्यक पनि छ । साक्षर भएकाहरुको फोराम बनाउनु पर्छ ।’ नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साक्षर अभियानलाई नया ढंगले अगाडि बढाएको बताउँदै उनले २००४ सालमा शुरु भएपनी ६५ सालमा प्रचण्डले ब्यबस्थित बनाउने काम गरेको बताए ।
अर्को एक प्रशंगमा मन्त्री पोखरेलले भौतिक विकासलाई मात्र विकास देख्न नहुने बताए । ‘भौतिक बिकास मात्र बिकास देख्ने प्रचलन यहाँ छ, तर विकासको एउटा अंश भौतिक विकास पनि हो । शिक्षामा विकास नभई अरुमा विकास हुन सक्दैन । त्यसैले ०८५ सालसम्ममा शिक्षा नलिनेले स्थानीय तहबाट पाउने सुबिधा पाउदैन ।’
शिक्षकले आजको शिक्षा बुझ्नुपर्ने
मन्त्री पोखरेलले शिक्षक र प्रधानाध्यापकले आजको शिक्षा बुझ्नुपर्ने बतबाए । ‘शिक्षक र प्रधानाध्यापकहरुले आजको शिक्षा बुझ्नु पर्छ । हामीले शिक्षालाई उत्पादनशिल बनाउन खोजेका छौ ।’ उनले भने, ‘नया ढंगले विद्यालय चलाउनु पर्छ । विद्यालयमा शैक्षिक साक्षमताको दर धेरै तल छ ।’ विद्यार्थीहरु ४ बजेपछि घर जान किन खुशी हुन्छन् अनि विद्यालय जाने समयमा किन अनिच्छा जाहेर गर्छन् भन्ने कुरा विद्यालयको वातावरणको असर भएको उनले बताए ।
शहिद र वेपत्तालाई सम्झे मन्त्रीले
मन्त्री पोखरेलले जनयुद्धको स्मरण समेत गरे । आज जुन धरातालमा उभिएको छ त्यो सबै जनयुद्धको परिणाम भएको मन्त्री पोखरेलले स्पष्ट पारे । ‘आज युग बदल्ने महान जनयुद्धको शुरु गरेको दिन हो । यतिखेर म महान शहिदहरु यानप्रसाद गौतम, तिर्थ गौतम लगायतलाई सम्झन चाहन्छु । बेपत्ता योद्धा नविन गौतम लगायतकालाई सम्झन चाहन्छु ।’ उनले भने, ‘जनयुद्धमा हजारौंले जीवन बलिदान गरे । ती वलिदान नभएको भए हामी यो ठाउँमा हुँदैन थियौ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















