काभ्रे । वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले चौंरीदेउराली गाउँपालिकामा अब बाह्रै महिना चल्ने सडक निर्माण हुने बताएका छन् । चौंरीदेउरालीलाई साक्षर गाउँपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विहिबार सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले विकास निर्माणका कार्यहरु तिब्र रुपमा अगाडि बढेको बताउँदै केही मान्छेहरुले त्यो विकास निर्माणको अवस्था नदेखेर सामाजिक सञ्जालमा गलत प्रचार गरेको प्रति दुःख व्यक्त गरे । ‘हामी निर्वाचित भएपछि त्यत्रो विकास निर्माणको पक्रिया अगाडि बढेको छ । केही व्यक्तिहरु चौरीदेउरालीमा केही पनि नभएका भनेर सामाजिक सञ्जालमा लेख्न तल्लिन देखिन्छ ।’ विकास निर्माणको फेहरिस्त सुनाउँदै ढकालले भने, ‘अब चौंरीदेउरालीमा केही महिना वा एक वर्ष भित्र बाह्रै महिन चल्न सडक निर्माण कार्य सम्पन्न हुँदैछ । सबै वडा जोड्दे बाटोहरुको तिब्र स्तरोन्नति भैरहेको छ । पर्यटन बिकासका काम अघि बढेको छ । खेलमैदान बन्दै छ । उनीहरुले यो किन नदेखेका हुन् ?’
२ बर्ष भित्र कायापलट गर्न नसकेको सत्य हो भन्दै उनले ३ वर्ष अझै कार्यकाल बाँकी रहेको स्मरण गराए । शिक्षामा बिकास भएन भने समृद्ध नेपाल नबन्ने उनको तर्क थियो ।
आफ्नो गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न पाउँदा खुशी लागेको बताउँदै सांसद ढकालले अब पूर्ण साक्षर तिर जान निरन्तर शिक्षालाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















