काभ्रे । रोशी गाउँपालिकाको माम्ती र थाङसिङ बेसिमा बन्दै गरेको पुल निर्माण कार्य शुरु गर्न प्रतिनिधि सभा सदस्य सांसद बमध्वजले एक हप्ताको समयसिमा दिएका छन् । पूर्वाधार विकास कार्यालय काभ्रेमा निर्माण कम्पनीका प्रतिनिधि, सरोकारलावाहरु, कार्यालय र जनप्रतिनिधि बीचको छलफलमा सांसद बमध्वजले एक हप्ताको समय सिमा दिएका हुन् ।
माम्तीमा निर्माण भएको मोटरेबल सस्पेन्सन बृज अन्तिम चरणमा पुगेर निर्माण कार्य रोकिएको छ भने थाङसिङबेसीको भने शुरुवातीमै छोडेको थियो । १० वर्ष वित्दा पनि पुल निर्माण नभएपछि जनगुनासो निक्कै आएको सांसद बमध्वजले बताए ।
‘१० वर्ष भन्दा बढी भयो जनताको गुनासो निक्कै आएको छ । अरु कुरा मलाई थाहा छैन, एक हप्ता भित्रमा काम शुरु हुने गरि प्रक्रिया अगाडि बढाउनुप¥यो ।’ निर्माण कम्पनी र सम्बन्धीत कार्यालय प्रमुखसँग सांसद बमध्वजले भने, ‘अब धेरै समय कुर्नै सक्दिन । मैले के गर्नुपर्छ बरु भन्नुहोस् म जस्तोसुकै सहयोग गर्न तयार छु ।’
निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय बीचको मौखिक सहमतिले समस्या आएको बताउँदै सांसद बमध्वजले बाटो बनेपनि पुल नबन्दा स्थानीयले सडकको उपयोग गर्न नपाएकोले चाँडै निर्माण सम्पन्न गर्न अनुरोध गरे । ‘मौखिक सहमतिमा काम गरेर समस्या आएको देखियो । डेटासहित काम गरौ कति दिन भित्रमा गर्ने हो ?’ उनले भने, ‘बाटो बन्ने तर पुल बनेन भने के गर्ने ? बाटोको लागि मैले २ करोड बजेट हालेको छु ।’
छलफलमा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले समस्या कहाँ हो समाधान गर्न निर्माण पक्ष र पूर्वाधार कार्यालयलाई अनुरोध गरे । नीतिगत समस्या कहाँ छ आफू जतिखेर पनि लागिपर्ने बताए ।
स्थानीय सरोकावरवाला तथा नेकपा जिल्ला सदस्य उज्ज्वल लामाले निर्माण कम्पनी र कार्यालयको अन्तरविरोधले गर्दा आफूहरुले समस्या खेप्नुपर्ने गुनासो गरेका थिए । ‘न जग्गावालाले मुआब्जा पाएको छ न पुल निर्माण भएको छ ।’ उनले भने, ‘अब यसरी चल्दैन म जनता उराल्छु अब ।’
यता निर्माण कम्पनीका प्रतिनिधि तारा प्रसाद पौडेलले पूर्वाधार विकास कार्यालयका कारण पूल निर्माणमा ढिलाई भएको बताए । विल भुक्तानी नगरेकोले आफूले माम्ती पूल निर्माण सम्पन्न गर्न नसकेको र थाङसिङ बेसीको पुल निर्माण गर्न नसकेको दुखेको पोखे ।
पूर्वाधार विकास कार्यलय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले प्राविधिक स्टामेट अनुसार पुल निर्माण भएको प्रमाणित नभई विल भुक्तानी गर्न नमिल्ने भएकोले भुक्तानी नदिएको स्ष्टीकरण दिए । पूल निर्माण नहुँदा आफूलाई राती निन्द्र नलागेको बताउँदै प्राविधिक स्टामेट अनुसार निर्माण भएको प्रमाणित गरिदिए भुक्तानी नरोक्ने बताए ।
छलफलले एक हप्ता भित्रमा निर्माण कम्पनीले प्राविधिक प्रतिवेदन पेश गर्नुपर्ने र सम्बन्धित कार्यालयले पनि एक हप्ता भित्र थाङसिङ बेसीको पुल निर्माणको लागि सबै प्रक्रिया मिलाउनुपर्ने निर्णय गरेको थियो । बैठक पुनः फागुन १४ गते बस्ने भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















