सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीमा कार्यरत सहायक प्रबन्धकलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग ७५ हजार घुस लिईरहेको अवस्थामा विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेर बहादुर सुनारलाई पक्राउ गरिएको आयोगको कार्यालय बर्दिवासका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रवक्ता कोइरालाका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खड्कालाई लिन पठाएका थिए ।
घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो । खड्कालाई कमलामाई नगरपालिका – ७ गैरी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
सुनारलाई कार्यालयबाटै पक्राउ गरिएको कोइरालाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















