धुलिखेल । काभ्रे जिल्ला साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक समारोहका बीच आज (बुधबार) साक्षर जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति, काभ्रेका संयोजक उद्धव केसीले मापदण्ड पूरा भएकोले काभ्रेलाई साक्षर जिल्ला घोषणा गर्न मन्त्री पोखरेल समक्ष प्रस्ताब गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयमा शिक्षा गुणात्मक छ कि छैन भन्ने कुरा शिक्षकमा निर्भर हुने बताएका छन् । ‘अब शिक्षा गुणात्मक छ कि छैन भन्ने कुरा शिक्षकमा गुणात्मक छ कि छैन भन्ने कुराले निर्धारण गर्दछ ।’ उनले भने, ‘गुणात्मक शिक्षा अब शिक्षकमा निर्भर रहेको छ ।’
मन्त्री पोखरेलले निराक्षरसँग गरिबी जोडेको प्रष्ट पारे । ‘निराक्षरसँग गरिबी जोडेको हुन्छ ।’ उनले भने, ‘निराक्षर घटे गरीबी पनि घट्छ । शिक्षालाई शिपसँग जोडेर सिपलाई समृद्धिसँग जोडिनुपर्दछ ।’

अब सिकाई केन्द्रित शिक्षाको जरुरत रहेको उनले बताए । कार्यक्रममा पोखरेलले मुलुकमा ८२ प्रतिशत मात्र साक्षर जनसंख्या भएकोले २ बर्ष भित्रमा साक्षर नेपाल घोषणा गर्ने बताए ।
संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले साक्षर जिल्ला घोषणा भएकोमा जिल्लाकै गौरबको विषय बनेको बताउँदै साक्षर बनाउन बाँकी रहेकालाई निरन्तर शिक्षा मार्फत पूर्ण साक्षर बनाउनुपर्नेमा जोड दिए ।
वागमती प्रदेश सांसद लक्ष्मण लम्सालले सबैको छोराछोरी सार्वजनिक बिद्यालयमा पढाउने वातावरण बनाउनुपर्नेमा जोड दिंदै शिक्षा सुधार्न अब स्थानीय तहबाटै शुरु गर्नुपर्ने बताए ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले साक्षर जिल्ला घोषणा गर्न ढिलाई भएको बताए । ‘राण शासन कालमा नै यो जिल्लामा ३ वटा बिद्यालय खुलेको थियो ।’ व्याञ्जुले भने, ‘तर साक्षर घोषणा ढिलो भो । अझ हामी ५२ औ स्थानमा प¥यौं ।’ उनले शिक्षामा सबैको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

तेमाल गाउँपालिकाका अध्यष सलाम सिं तामाङले जिल्ला सक्षर घोषणा भएपछि अब शिर ठाडो पारेर ‘म काभ्रेको’ भन्न पाउने भएकोमा खुशी लागेको बताए ।
साक्षर जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रममा काभ्रेका सबै स्थानीयत तहलाई सम्मान गरेको थियो ।
जिल्लाको साक्षरता अवस्था कस्तो छ ?
१५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सनिश्चित भएकाले काभ्रे जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको हो । साक्षरता अभियान जिल्ला समन्वय समिति, काभ्रेका संयोजक उद्धव केसीका अनुसार अनुसार ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्य काभ्रे जिल्लामा ३ लाख ६० हजार ५ सय ६० जना साक्षर भएका छन् । साक्षर प्रतिशत ९६.४८ प्रतिशत रहेको छ । १३ हजार १ सय ६८ जना अर्थात ३.५२ प्रतिशत भने अझै निराक्षर रहेको केसीले जानकारी दिए । यस अघि काभ्रेको १३ वटै स्थानीय तहमा साक्षर पालिका घोषणा भइसकेको छ ।
कुन स्थानीय तहमा साक्षतरता अवस्था कस्तो छ ?
मण्डन देउपुर नगरपालिकालाई ०७५ साल पुष १३ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ३२ हजार ५ सय ६० रहेकोमा साक्षर जनसंख्या ३१ हजार २१ अर्थात ९५.२७ प्रतिशत रहेको छ ।
खानीखोला गाउँपालिकामा २०७५ साल माघ २१ गते साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १४ हजार ३ सय ९८ जनसंख्या रहेकोमा १३ हजार ९ सय २४ अर्थात ९६.७१ प्रतिशत साक्षर रहेको छ ।
धुलिखेल नगरपालिकामा २०७५ फागुन ५ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरमा ३२ हजार १ सय ६२ जनसंख्या रहेकोमा ३१ हजार ५ सय ४१ अर्थात ९८.०७ प्रतिशत साक्षर रहेको छ ।
बनेपा नगरपालिकामा २०७५ साल चैत्र १४ गतेका दिन साक्षर नगर घोषणा गरिएको थियो । यस नगरमा ५५ हजार ५ सय ६ जनसंख्या रहेकोमा ५३ हजार ८ सय ९३ जना अर्थात ९७.०९ प्रतिशत साक्षर रहेको छ ।
तेमाल गाउँपालिकामा २०७६ साल भदौ २२ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा २२ हजार ७ सय १२ जनसंख्या रहेकोमा २१ हजार ७ सय ९७ अर्थात ९५.९७ प्रतिशत साक्षर रहेको छ ।
भुम्लु गाउँपालिकामा २०७६ साल मंसिर १३ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १८ हजार ६ सय ६२ जनसंख्या रहेकोमा १७ हजार ७ सय ३९ अर्थात ९५.०६ प्रतिशत साक्षर रहेको छ ।
पनौती नगरपालिकामा २०७६ साल मंसिर २० गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ४५ हजार ५ सय ७७ जनसंख्या रहेकोमा ४३ हजार ३ सय २० अर्थात ९५.०५ प्रतिशत साक्षर रहेका छन् ।
बेथानचोक गाउँपालिकामा २०७६ साल पुष २५ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १६ हजार ७ सय ७७ जनसंख्यारहेकोमा १६ हजार ७४ अर्थात ९५.८१ प्रतिशत साक्षर रहेको छ ।
महाभारत गाउँपालिकामा २०७६ साल माघ ६ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १८ हजार २ सय ८३ जनसंख्या रहेकोमा १७ हजार ९ सय १४ अर्थात ९७.९८ प्रतिश साक्षर रहेको छ ।
नमोबुद्ध नगरपालिकामा २०७६ साल माघ १२ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा २९ हजार ५ सय १९ जनसंख्या रहेकोमा २८ हजार ४ सय ५६ अर्थात ९६.४० प्रतिशत साक्षर रहेको छ ।
पाँचखाल नगरपालिकामा २०७६ साल माघ १३ गतेका दिन साक्षर नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ३७ हजार ९ सय ९७ जनसंख्या रहेकोमा ३६ हजार २ सय ६१ अर्थात ९५.४३ प्रतिशत साक्षर रहेको छ ।
रोशी गाउँपालिकामा २०७६ साल माघ २८ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा २८ हजार ७ सय ४६ जनसंख्या रहेकोमा २८ हजार ४ सय ५२ जना अर्थात ९८.९८ प्रतिशत साक्षर रहेको छ ।
चौंरीदेउराली गाउँपालिकामा २०७६ साल फागुण १ गतेका दिन साक्षर गाउँपालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा २० हजार ८ सय २९ जनसंख्या रहेकोमा २० हजार १ सय ६८ अर्थात ९६.८३ प्रतिशत शिक्षित रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















