काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूबारे प्रश्‍न उठेकाले पदबाट राजीनामा दिएको बताएका छन्।
सेक्युरिटी प्रिन्टर खरिदमा स्विस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा आएको हो।
उनले राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर बुझाइसकेका छन्। यसअघि बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले दिएका थिए। उनले कञ्चनपुरबाट फर्किएलगत्तै पदबाट राजीनामा दिएका हुन्।
मिश्रले स्विस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग करोडौं कमिशनको डिल गरेको अडियो सार्वजनिक गरेका थिए।
आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो बुधबारदेखि भाइरल भइरहेको थियो।
मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका थिए।
बाँस्कोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बिहीबारै आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गरेका थिए। बाँसकोटाले कमिशन मागेको अडियो सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदनको बिहीबार बस्ने बैठक अवरुद्ध गरिसकेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।