काभ्रे । वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुंगेलले काभ्रेको मंगलटारमा मोटरबाटो हिंड्ने पक्की पुल निर्माणको लागि आफूले पहल गर्ने बताएका छन् । आज (विहिबार) तेमाल गाउँपालिका वडा नं. ८ मा मन्त्री ढुंगेलले रोशीखोला लिफ्ट सिंचाई आयोजनाको शिलान्यास गर्दै उक्त कुरा बताएका हुने ।
सोही कार्यक्रममा मन्त्री ढुंगेलले मेच्छे चक्रपथ अन्तर्गत शहिद सुवास–कल्याण–रिता मार्गको पनि उद्घाटन गरेका थिए । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका सुवास मैनाली, कल्याण तामाङ र रिता लामाको नाममा उक्त सडकको नामकरण गरिएको छ । उक्त मार्गले वडा नं. ८ को भोज्र्याङ, ल्होङसाल, मेच्छे र टेकानपुर समेटेको छ ।

मंगलटारमा पुल निर्माणको सम्पूर्ण डकुमेन्ट मन्त्रालयमा तुरुन्त बुझाउन पनि उनले आग्रह गरे । ‘अर्को आर्थिक वर्ष मंगलटारमा पक्की पुल निर्माण हुन्छ । त्यसको लागि म लागिरहनेछु ।’ मनत्री ढुंगेलले भने, ‘यसको सम्पूर्ण डकुमेन्ट मन्त्रालयसम्म चाँडै पु¥याउनु होला ।’
कार्यक्रममा उनले सहिद दिवसमा मात्र सहिदलाई सम्झेर नहुने बताउँदै सहिदको सपना पूरा गरेर मात्र सहिद प्रति वास्तविक सम्मान हुने बताए । ‘आज यो सहिद मार्गको उद्घाटन गरिएको छ । महान सहिदहरु प्रति सच्चा सम्मान समृद्ध नेपाल निर्माण गरेर मात्र हुन्छ ।’ उनले भने, ‘अब सहिद दिवसमा मात्र सहिदलाई सम्झेर हुँदैन, सहिदको सपना पूरा गर्नुपर्छ ।’
स्थानीय जनप्रतिनिधिबाट भ्रष्टचार भएको आरोप आइरहेको जनाउँदै स्थानीय जनप्रतिनिधिलाई आफूले लाउने लुगामा गोजी नराख्न अनुरोध गरे । ‘जनप्रतिनिधिले अब लुगामा गोजी राख्नु हुन्न । पारदर्शी र शुसासन कायम गर्नुहोस् ।’ उनले भने, ‘एउटा ऐना पनि बोक्नुहोस्, अनि जनप्रतिनिधि हुँदाको अनुहार र भईसकेपछिको अनुहार हेर्नुहोस् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश सदस्य सांसद रत्न ढकालले तेमाललाई कृषि मात्र होइन, पर्यटन विकासको लागि पनि आफूले पहल गरिरहेको बताए ।
कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले आफ्नो गाउँपालिकामा लिफ्ट सिंचाईको योजनाको लागि प्रदेश सरकारले विशेष चासो राखेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), वागमती प्रदेश सभा सदस्य सांसद राजकाजी महर्जन, तेमाल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, नेकपाका नेताहरु घनश्याम घिसिङ, डिएम लामा, समिर लामा, नेपाली काँग्रेसका नेता संजीव लामा लगायतका सहभागीता रहेका थिए ।
शिलान्यास कार्यक्रममा स्थानीय जनताको बाग्लो उपस्थिति रहेका थिए । लिफ्ट सिंचाई भएपछि यहाँको जनताको आयस्रोत बढ्ने भएपछि यहाँका जनता खुशी भएका छन् ।
यो ओयोजना ७ करोड ४१ लाख ९१ हजारको रहेको वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले जानकारी दिए । यो आयोजनाले वडाको सबै गाउँ समेट्ने वडा अध्यक्ष घिसिङको भनाई छ । उनका अनुसार यो आयोजना २ वर्ष भित्रमा सम्पन्न हुने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।