काभ्रे । वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले मुलुकमा कम्युनिष्ट सरकार भएकोले विकास निर्माणमा पैसाको चिन्ता नलिन जनतालाई अनुरोध गरेका छन् । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ मा रहेको प्रभा माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तारन्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
ढकालले यो वर्षमा प्रभा माविको लागि विद्यार्थी बोक्न एउटा बसको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे । ‘प्रभा बहुमुखी क्याम्पसलाई के गर्नु पर्यो ? पैसा चाहियो ? तयार छु । आउने आर्थिक वर्षमा यो विद्यालयको लागि एउटा बसको ब्यबस्था गर्छु म ।’ उनले भने, ‘तपाईंलाई के आबश्यकता छ ? कुरा राख्नु भएको छ मसँग ? बजेटका कारण यो बिद्यालय र क्याम्पसमा समस्या नहोस । हामी जनप्रतिनिधि छौं, नेकपाको सरकार छ ।’
केही व्यक्तिहरुले विकास निर्माणको सवालमा सामाजिक सञ्जाल मार्फत गरेको टिप्पणीको चर्चा समेत उनले गरे । ‘आलोचना गरेको सुनेकोछु । फेसबुकमा टिकाटिप्पनी गरेको देखेको छु ।’ सांसद ढकालले भने, ‘चाहेको के हो महत्वपुर्ण कुरा यो हो । चाहेको कुरा बिकास हो, समृद्धि हो भने साथमा छु । होइन भने तपाईंहरु विकास नदेख्ने, परिवर्तन नदेख्ने ? होइन भने हामी जवाफ दिन तयार छौं ।’
चौंरिदेउरालीमा कति करोडको योजना सम्पन्न हुँदै छ विरोध मात्र गर्नेहरुलाई राम्ररी हेर्न ढकालले आग्रह गरे ।
बाँस्कोटाको बहिर्गमनले घाटा काभ्रे र कोशीपारीलाई
भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको राजीनामाले सिंगो काभ्रे र कोशिपारीलाई घाटामा भएको सांसद ढकालले चिन्ता व्यक्त गरे । उनले अहिलेको सरकारले ठूला–ठूला माछा समातेको चर्चा गर्दै आरोप लाग्दैमा बाँस्कोटा दोषी नहुने बताए ।
‘हामी भ्रष्टाचारको कुरा गर्दा कुन पार्टीले जितेको छ हामीलाई मतलब छैन भ्रष्टाचार गर्ने छुट कसैलाई छैन । पहिला साना साना मात्र समात्थे, अहिले ठूला–ठूला माछा समातेको छ ।’ ढकालले भने, ‘बाँस्कोटाले गल्ती गरेको छ भने सजाय पाउँछ । तर आरोप लाग्दैमा दोशी हुन्न । यता ध्यान दिन अनुरोध गर्द्छु । कोहि मातिनुपर्दैन कोही आत्तिनु पर्दैन । घाटा काभ्रेलाई हुन्छ कोशिपारीलाई हुन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















