चौंरीदेउराली । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले वडा नंं ६ मा रहेको प्रभा माध्यमिक विद्यालय सबै स्कुलको नेता स्कुल रहेको बताएका छन् । प्रभा माविको भवन उद्घाटन तथा हस्तारन्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।
प्रभा मावि नमुना विद्यालय भएकोले पढाई पनि नमुना हुनुपर्नेमा अध्यक्ष गौतमले जोड दिए । ‘कोशिपारीको प्रभा पहिलो क्याम्पस हो यो । नेताहरु जन्माउने स्कुल हो यो । सबै विद्यालयको नेता स्कुल पनि हो यो ।’ गौतमले भने, ‘यो गाउँपालिकामा २ वटा नमुना बिद्यालय छन् । सबै बिद्यालयलाई नमुना बनाउने हो । एउटा चिजको खाँचो छ । नमुना विद्यालयमा शिक्षा नमुना योग्य छ कि छैन ? पढाई नमुना योग्य छ कि छैन ।’
शैक्षिक गुणस्तरमा सबैभन्दा बढी जिम्मा शिक्षकको हुने बताउँदै गाउँपालिका अध्यक्ष गौतमले आफू पनि शिक्षक भएकोले कहाँ के भइरहेको छ आफूलाई सबै थाहा हुनेब ताए । ‘पहिलो बर्ष म शिक्षकहरु माथि आक्रमक भएँ । दोस्रो म केही बोलिन ।’ उनले भने, ‘विद्यालय कस्तो बनाउने सबै भन्दा बढि जिम्मा शिक्षक को हो । यसपछि विद्यार्थी हुन् र अरु सहयोगी मात्र हो । म पनि शिक्षक पृष्ठभुमिको हुँ, कहाँनेर के भैरहेको छ बुझ्छु ।’
यो वर्ष खानेपानीको वर्ष बनाएको बताउँदै अध्यक्ष गौतमले अर्को वर्ष कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘यहाँको सबभन्दा मुख्य समस्या खानेपानीको भएको हो । ६ वटा वडामा खानेपानी समस्या छ ।’ उनले भने, ‘कुनै सप्पन्न हुँदैछ, कुनै सुरु भो कुनै हुँदैछ । ५५ प्रतिशत बजेट हामीले खानेपानीमा लगाएको छौं ।’
चौंरीदेउरालीमा कुनै परिवर्तन नै नभएको भन्द्र केही मान्छेहरु कुप्रचारमा लागेको भन्दै उनले आक्रोश पोखे । ‘बिषय बस्तुलाई ठीक ढंगले बुझ्ने समस्या छ यहाँ । केही मान्छेहरुले केही परिवर्तन नै नभएको भनि सामाजिक सञ्जालमा भावना पोखेको देखेको छु । केही चिया पसलमा पनि यस्तो कुरा भएको सुनेको छ ।’ उनले भने, ‘तिमीले भनेको परिवर्तन घाम पश्चिमबाट उदाउनु हो त ? यहाँ सडक, खानेपानी, विद्यालय, कृषिमा भएको परिवर्तन चाहिं परिवर्तन होइनन् र ?’
निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको प्रसंगलाई कोट्याउँदै गौतमले बाँस्कोटा मन्त्री भएपछि काभ्रेको विकास निर्माणले गति लिएको बताए । साथै उनले बाँस्कोटा निर्दोष भएको जिकिर गरे । ‘जनताको हितभन्दा बाहिर जान्छ, राज्यशक्तिको दुरुपयोग गर्छ भने छानबिन हुन्छ । दोषी भए कार्वाही हुन्छ ।’ उनले भने, ‘षड्यन्त्र भएको छ उहाँ माथि, उहाँ मन्त्री भएपछि काभ्रेको बिकास निर्माण ले तिब्रता पाएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।