चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ कात्तिकेदेउरालीमा रहेको नमुना विद्यालय श्री प्रभा माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले एक कार्यक्रमका बीच उक्त नवनिर्मित भवन उद्घाटन तथा हस्तारन्तरण गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उक्त विद्यालयको भवन क्षतिग्रस्त भएकोमा पुनर्निर्माण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले प्रभा मावि नमुना बिद्यालय बनेपछि ठुलाठुला भवनहरु निर्माण भएको र उक्त विद्यालय ३९ वटा स्कुलको नेता स्कुल भएकोमा बधाई दिए ।
त्यसैगरि वागमती प्रदेश सांसद रत्न ढकालले प्रभा माविको लागि अर्को वर्षदेखि विद्यार्थीको लागि एउटा गाडीको व्यवस्था गर्ने र विद्यालयको आवश्यकता पूरा गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिका भित्र २ वटा नमुना विद्यालय रहेकोमा अब सबै विद्यालयलाई नमुना बनाउँदै लाने बताए ।
नुमना विद्यालयको रुपमा सरकारले मान्यता दिएपछि विव्यस अध्यक्ष तेजबहादुर पन्तको पहलमा ५ वटा भवन निर्माण भएको छ । विद्यालयको प्रधानाध्यापक क्षितिज सुब्बाका अनुसार हाल बनेको भवनहरुमा कक्षा कोठाको लागि २ वटा भवन निर्माण भएको छ । १२।१२ वटा कोठा रहेको उक्त भवनमा २४ वटा कोठा रहेका छन् । त्यसैगरि २५ छात्रा र २५ छात्रको क्षमता रहेको १ वटा होस्टेलको लागि भवन निर्माण भएको छ । छात्रा।छात्रको लागि अत्याधुनिक शौचालय १ वटा र क्यान्टिन १ वटा निर्माण सम्पन्न भएको छ ।

पुनर्निमिर्तत उक्त ५ वटा भवन करिब ९ करोडमा निर्माण भएको प्रधानाध्यापक सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार हाल उक्त विद्यालयमा ५ सय १४ जना विद्यार्थीहरु अध्ययनरत छन् । २०१० सालमा स्थापना भएको उक्त विद्यालय चौंरीदेउराली गाउँपालिका कै पहिलो विद्यालय हो भने कोशीपारी कै दोस्रो विद्यालय हुन् ।

कार्यक्रममा नेकपा काभ्रेका नेता इन्द्रबहादुर तामाङ, लेखराज गौतम, मुकुन्द गौतम, दिपक गौतम, रिता ढकाल (धरिणा), गाउँपालिका उपाध्यक्ष ताराकुमारी गौतम विभिन्न वडाका वडाअध्यक्षहरुको सहभागीता रहेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरु विभिन्न गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला