काभ्रे । समग्र सहकारी संघ/संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघको सहजिकरण तथा समन्वयमा नमोबुद्ध नगरपालिकामा गठन भएको नगरस्तरीय सहकारी समन्वय समितिको आयोजना तथा नमोबुद्ध नगरपालिकाको सहयोगमा सहकारी संस्थाहरुको भेला सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ लि का अपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समन्वय समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले गरेका थिए ।
सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन तथा सक्रियता बृद्धि गर्नका लागि डाकिएको भेलामा ४२ वटा सहकारी संस्थाहरुका पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरुको उपस्थिती रहेको थियो । १ सय ५० जना भन्दा बढी सहभागिहरु उपस्थित उक्त कार्यक्रममा प्रमुख अतिथी पोखरेलले सहभागिहरुलाई प्रशिक्षण समेत दिएका थिए । प्रशिक्षण कार्यक्रममा सहकारीको ईतिहास, परिचय, नेपालका यसको उत्पत्ति सहकारीका मूल्य मान्यता, दर्शन सिद्धान्त, सहकारीका ऐन, कानून तथा नियमावलीहरुका विषयमा पोखरेलले प्रशिक्षण दिएका थिए ।
सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका तथा कार्यहरुको बारेमा प्रष्ट पार्दै प्रमुख अतिथी पोखरेलले सहकारीलाई उत्पादन तथा समृद्धिको अभियानमा अगाडि बढाउनका लागि स्थानीय स्तरमा दर्ता भएर रहेका सहकारी संस्थाहरुले एउटै र ठूलो सहकारी निर्माण गर्न स्थानीयस्तरमा नै स–साना खालका सहकारी संस्थाहरु बिषय र प्रकृतिका आधारमा एकिकरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि शर्मा तिमल्सिनाले सहभागिहरुमा उल्लेख्य सहभागिता रहेकोमा खुसि ब्यक्त गर्दै सहकारीका बारेमा नबुझेको बिषयमा प्रष्ट हुँदै सक्रिय सहभागिता जनाउनुहुन अनुरोध गरे । नमोबुद्ध नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको क्षमता विकास तथा प्रवद्र्धनमा आफुले निकै चासो ब्यक्त गरिरहेको जानकारी दिंदै सहकारीको प्रवद्र्धन र विकासका लागि आर्थिक व्यवस्थापन गर्दै यसलाई कायम राख्ने र भविस्यमा नगरस्तरीय समन्वय समितिका लागि आवश्य पूर्वाधार सहित कार्यालय व्यस्थापनमा समेत सहयोग गर्ने शर्माले प्रतिबद्धता जाहेर गरे ।
‘आवश्यक परेमा भवन निर्माण तथा समन्वय समिति र सहकारीका लागि विभिन्न दातृ निकायहरुको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने र यहि नगर भित्रका सहकारी संस्थाहरुलाई क्षमतावान बनाई नमूना सहकारी संस्था निर्माण गर्न म हरबखत प्रयत्न रहनेछु ।’ नगर प्रमुख शर्माले भने ।
समन्वय समितिका सह संयोजक उद्धव हुमागाईले स्वागत गरेका उक्त कार्यक्रममा गमलामा पानी सिंचित गर्दै उद्घाटन गरिएको थियो ।
कार्यक्रममा नगरका उप–प्रमुख राममाया तामाङ, सहकारी अभियन्ता कुलचन्द्र अधिकारी, वडा अध्यक्षहरु रामकृष्ण उपाध्याय, धर्मसिं लामा सहकारी अभियानका पूर्णचन्द्र सिग्देल, धुलिखेल नगरस्तरीय सहकारी समन्वय समितिका संयोजक सिताराम भट्टराई समेतको सहभागिता लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माको बिषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सचिव दिलिप शर्माले जिल्ला सहकारी संघ लि ले हालसम्म गर्दै आइरहेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउँदै उक्त नगर भित्र रहेका सबै सहकारी संस्थाहरु जिल्ला सहकारी संघमा आबद्ध भईसेवा लिन र क्षमता विकासका कार्यक्रमहरुमा सहभागिता जनाउन अनुरोध समेत गरे ।
कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्यसुदर्शन प्याकुरेलले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।